लमही, माघ १७ । शान्तिनगर गाउँपालिकाद्वारा आयोजित अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी पुगेका थिए । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए ।
पहाडी र तराई क्षेत्र समेटिएको उक्त गाउँपालिकाको प्रत्येक वडाले क्रमअनुसार सोरठी, मयूर नाचदेखि थारू नाच प्रस्तुत गरिरहेका थिए । सोही क्रममा वडा नं ६ को पालो आयो । थारूबाहुल्य क्षेत्र रहेको उक्त वडाले थारू नाचसंगै मन्त्रीलाई थारू परिकारले पनि स्वागत गरेका थिए ।
त्यस स्वागत समारोहका लागि मात्रै स्वागत नभई थारूको पहिचान, वेशभूषा र खानपिनबारे प्रचार गर्न सके दाङलाई थारू पर्यटनका रुपमा विकास गर्न सकिने भन्ने हेतुले सन्देश दिन गरिएको थियो । मन्त्री केसीलाई ढकियाका साथै ढिक्री, आलुको अचार, सिद्रा माछा, थारू जाँडसमेत दिइएको थियो ।
कार्यक्रमको अन्ततिर मन्तव्य व्यक्त गरेका मन्त्री केसीले दाङ थारूहरुको बाहुल्य भएको यस जिल्लामा थारू पर्यटन विकासका लागि प्रदेश सरकारले थारू सङ्ग्राहलय बनाउन लागेको समेत जानकारी गराएका थिए ।
थारूहरुको राजाको नामबाट रहेको ‘दङ्गीशरण’मा थारू सङ्ग्राहलय बनाउनका लागि प्रदेश ५ सरकारले रु दुई करोड बजेट छुट्याएको जानकारी दिँदै,यो गाउँपालिकामा पहाडी तथा तराईका बासिन्दाको बसोबास रहेकाले विविध संस्कृतिमा पनि प्रदेशकै धनी गाउँपालिका बनेकोे उनले बताए ।