पत्रकारका समस्या सुल्झाउने सञ्चारमन्त्रीको आश्वासन

काठमाडौँ, साउन १५ । श्रमजीवी पत्रकारका समस्या समाधानमा मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।

मन्त्रालयमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै मन्त्री बस्नेतले दिनभर काम गर्ने श्रमजीवी पत्रकारका समस्या समाधान हुनुपर्ने बताए । श्रमजीवी पत्रकारले उचित पारिश्रमिक नपाएको कुरा सुनेको भन्दै सुनुवाइ नहुने हुदैनन् सञ्चारगृहका पनि आफ्ना समस्या हुनसक्ने र दुवै पक्षले आपसी समन्वयमा वार्ता र सहमतिबाट समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।

सञ्चार मन्त्रालय मुलुकका लागि धेरै जिम्मेवार मन्त्रालयका रुपमा रहेको भन्दै मन्त्री बस्नेतले मन्त्रालय अन्तर्गत थालिने सुधार कार्यमा सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण रहने धारणा व्यक्त गरे । समितिको प्रतिवेदनका सम्बन्धमा आफूले यसअघि पनि चासो राखेको प्रसंग उल्लेख गर्दै उनले सम्बन्धित सबै निकायसँग आवश्यक परामर्श गरी प्रतिवेदनले औंल्याएका विषयलाई सम्बोधन गर्न नियम कानून र स्रोतसाधनले भ्याएसम्म पहल गर्ने आश्वासन दिए ।

सबै प्रदेशका ६० जिल्लामा श्रमजीवी पत्रकार, कर्मचारी र कामदार औपचारिक तथा अनौपचारिक रुपमा अनुगमनमा सहभागी गराई प्रतिवेदन तयार पारिएको समितिका अध्यक्ष पोषण केसीले जानकारी गराए । अध्यक्ष केसीले नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले तहगत वर्गीकरण अनुसार तलब पाउनसमेत समस्या भएको बताए ।