काठमाडौँ, माघ २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न र अनैतिक कामको निग्रानीमा आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित दबाब दिइरहेको बताएका छन् । सरकारलाई सच्चिनका लागि प्रतिपक्षी समय र अवसर दिएको उनले बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसका तर्फबाट सांसद थापालाई बोल्न समय दिएका थिए । सांसद थापाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल सरकारले विघटनको संघारमा पु¥याएको उल्लेख गर्दै प्रतिप्रक्षी दलको नियमित दबाबका कारण सरकार उक्त गल्ती सच्याउन बाध्य भएको बताएका छन् ।
थापाले पूर्वप्रधानमन्त्रीद्वय कोइरालाको नाम कसैले अस्पतालबाट हटाउने प्रयास गरे पनि उनीहरूले नेपालको राजनीतिमा गरेको योगदान कसैले मेट्न नसक्ने चेतावनी दिएका छन् । सांसद थापाले प्रतिपक्षी दलसँग सरकारले गरेको व्यवहारका कारण आगामी दिनमा प्रतिपक्षीको भूमिकामा यथास्थितिमा रहने नसक्ने बताएका छन् । डा गोविन्द केसी अनशनमा भएका बेला सरकारका तर्फबाट कुनै माग सुनुवाइ नगरी अनशन टुङ्गिएकोप्रति सरकारलाई बधाई दिँदै उनले डा केसीकै चिकित्सा शिक्षा क्षेत्रमा सुधारको अभियानले चिकित्सा शिक्षा अध्ययन गर्न रु एक करोड पुग्न लागेको शुल्क आधा कम भएको धारणा राखेका थिए ।
डा केसीको यसअघिको अनशनका बेला स्वयं प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता कार्यान्वयन नहुँदा प्रधानमन्त्रीप्रतिको विश्वास गुमेको उनले टिप्पणी गरे । सांसद थापाले मुलुकमा शान्तिसुरक्षाको अवस्था कमजोर हुनाका साथै हत्या हिंसा बलात्कार बढेको र अर्थतन्त्र सङ्कट उन्मुख भएको भन्दै जनतामा निराश छाएको जानकारी गराएका छन् । व्यापारीहरू ब्याज चर्काे भयो भनेर सडकमा आउँदासमेत सरकारले ठोस पहल गर्न नसकेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने र आफू पनि नगर्ने बताइरहँदा मुलुकमा भ्रष्टाचार बढेको तथ्याङ्क सार्वजनिक भएको अवगत गराए ।