न्यूर्योक, माघ २४ । संयुक्त राज्य अमेरिका को न्यूर्जसी राज्यका संसदका पूर्व उपसभामुख तथा वर्तमान सांसद गोर्डन यम जोन्सनले नेपालको विकासका लागि जलश्रोत , कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने धारणा राखेका छन् । नेपाल प्राकृतिक रुपमा अत्यन्त सुन्दर भएकोले नेपालीहरुको मेहनत र साहसको उचित प्रयोग गर्न सके नेपालको विकास तीब्र गतिमा हुनेमा शंका नभएको उनले बताएका छन् ।
उनले उक्त कुरा गम्भिरतापूर्वक सोंचेर अघि बढ्न सरकारलाई आग्रह समेत गरेका छन् । उनले देश विकासका लागि प्राविधीक शिक्षा अनिवार्य भएकाले युवा स्वरोजगारका निम्ति उक्त शिक्षा प्रणाली लागु गरी देशमै युवाहरुलाई रोजगारयुक्त बनाउन तर्फ ध्यान दिन जरुरी रहेको औंल्याएका छन् । यसमा विदेशी राष्ट्रहरुले पनि सहयोग गर्ने बताउंदै उक्त कार्यले मात्र देशका युवाले विकासमा सहयोग गर्न सक्ने धारणा राखेका छन् ।
सन् २०१७ मा नेपालका उपसभामुख गंगाप्रसाद यादवको निमन्त्रणामा औपचारिक भ्रमण गरिसकेका उनले भ्रमणमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत विभिन्न संचारमाध्यमका पत्रकार तथा संघ संस्थाका प्रतिनिधीहरुलाई समेत भेट गरेका थिए । उक्त भेटबाट प्रभावित भएका उनले नेपालको विकासका लागि आफूले पहल गरिरहेको जानकारी गराएका छन् । आफू नेपाली नेताहरुसँगको सम्पर्कमा रहिरहेको भन्दै उनले नेपालले आफ्नो विकासको मोडल तयार गरेर सोही अनुसार काम गर्न सुझाब दिएका छन् ।
साथै उनले अमेरिकाको न्यूजर्सी, न्यूर्योक र पेन्सलभेनियामा बस्ने नेपालीहरुको कार्यक्रममा सहभागी हुँदा खुशि लागेको अनुभव सुनाउंदै नेपालीहरुको जस्तो आतिथ्यता अन्त कतै नभएको बताएका छन् । निकट भविष्यमै पुन ः नेपाल भ्रमण गर्ने समेत उनले जानकारी गराएका छन् ।