काठमाडौँ, साउन १६ । महिलाका हक अधिकार सुनिश्चित गर्नका लागि सबै महिला एकजुट भएर लाग्नुपर्ने सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले बताइन् ।
नेपाल महिला संघ केन्द्रीय कार्यालयद्वारा आयोजित अभिनन्दन तथा बधाई कार्यक्रममा बोल्दै उनले महिलालाई स्थापित गराउन अनेकौं समस्या भएको बताउँदै आफ्ना हक अधिकारका लागि पनि पार्टीगत हिसाबले नहेरी सबै महिला संगठित रुपमा लाग्नुपर्ने भनिन् ।
मन्त्री बस्नेतले हजारौँ नेपाली युवा गरिबीका कारण विदेश पलायन हुनुपर्ने बाध्यता भएको भन्दै उनीहरुका लागि स्वदेशमा नै रोजगारी प्रदान गर्न आफ्नो मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिइन् । आयोजक संघकी अध्यक्ष उमा रेग्मीले मन्त्री बस्नेतलाई कार्यकालको सफलताको शुभकामना दिँदै विसं २०४८ देखि महिला हकहितका लागि लड्दै आइरहेको बताइन् । उनले अहिलेको संविधानबाट महिला हक अधिकार पाएको चर्चासमेत गरिन् ।
त्यसैगरी पूर्व राज्यमन्त्री एवं आयोजक संघकी पूर्व अध्यक्ष मीना पाण्डेले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा महिला सहभागिताका बारेमा सबै महिला सचेत हुनुपर्नेमा कुरामा जोड दिइन् ।