यस्त जीवनमा मानिसलाई नचाहेर पनि तनाव निम्तिने गर्छ । यस्तो तनाव नियन्त्रण तथा व्यवस्थापन कसरी गर्ने भन्ने धेरैलाई चिन्ता छ । तनाव कम गर्ने विभिन्न माध्यममध्ये ध्यान अत्यन्त लाभदायक छ । ध्यानले तनाव विसर्जन मात्र होइन, शारीरिक, मानसिक एवं भावनात्मक रूपमा स्वस्थ बनाउँछ । आजभोलि ध्यान गर्नुपर्छ भन्ने धेरैलाई थाहा छ । कतिले त ध्यानको बारेमा नबुझेर नै आँखा चिम्लिने गर्छन् । सामान्य रूपमा भन्ने हो भने ध्यान स्वयंतिर फर्कने क्रिया हो । जसमा एकाग्रताको प्रयोग हुँदैन । होसमा बसेर साक्षीभावमा बस्ने क्रिया नै ध्यान हो । गहिरो ध्यानका लागि केही सहज सुझाब यस्ता छन् :
सुविधाजनक समय छनोट
ध्यान सकेसम्म विश्रामको समयमा मात्र गर्नुपर्छ । हतास, तनाव, थकानको अवस्थामा ध्यान नगर्दा राम्रो हुन्छ । त्यसैले अनुकूल समय छान्नु राम्रो हुन्छ । हुन त ब्रह्म मुहुर्त बिहान ४ देखि ६ बजेको समयलाई उत्तम मानिन्छ । तर, यही समय अनुकूल नभएमा कुनै पनि फुर्सदको समयमा ध्यान गर्न सकिन्छ ।
सूक्ष्म व्यायाम गर्ने
ध्यान सुरु गर्नुअघि हल्का सूक्ष्म व्यायाम गर्नु राम्रो हुन्छ । यसले रक्तसञ्चार अत्यन्त राम्रो हुनुका साथै शरीरको लचकता बढाउँछ । यसले लामो समयसम्म ध्यान बस्न सहज बनाउँछ ।
शान्त स्थानमा बस्ने
ध्यानको सुरुवातमा शान्त स्थानको छनोट गर्नु राम्रो हुन्छ । गहन ध्यानमा सहज रूपमा जान सकिने अवस्थामा पुगेपछि कुनै पनि स्थान उपयुक्त हुन्छ ।
प्राणायामको अभ्यास गर्ने
ध्यानको आसनमा बसेपछि लामो एवं गहिरो श्वास लिने र छाड्ने गर्नुपर्छ । जसलाई भस्त्रिका भनिन्छ । यसका साथै समय छ भने कपालभाती, अनुलोमविलोलम, भ्रामरी प्राणायाम पनि गर्न सकिन्छ । प्राणायामले मस्तिष्कदेखि शरीरभरि अक्सिजनको सञ्चार गरेर लामो समय ध्यानमा बस्न सहयोग गर्छ । जसले गर्दा ध्यानमा बस्दा छटपटी कम हुन्छ ।
आरामसँग बस्ने
ध्यानमा सबैभन्दा महत्वपूर्ण मेरुदण्ड सीधा पारेर आरामसँग बस्नुपर्छ । आफ्नो गर्दनलाई विश्रामपूर्वक राखेर सहज रूपमा आँखा बन्द गर्नुपर्छ । सामान्यतया पलेँटी मारेर सुखासनमा बस्न सकिन्छ । कसैकसैलाई लामो समय पलेँटी कसेर बस्दा झमझम हुने, ढाड, घुँडा दुख्ने समस्या हुन सक्छ । यस्तो भएमा कुर्सीमा आरामले बस्न सकिन्छ । हातलाई कुनै पनि मुद्रा जस्तै– ज्ञान मुद्रा, ध्यान मुद्रामा राख्न सकिन्छ । दुवै हातलाई एक–अर्कामा क्रस गरेर पनि राख्न सकिन्छ ।
पेट हल्का अवस्था
ध्यान गर्दा मानिसहरू निदाउने सम्भावना अधिक हुन्छ । त्यसैले खाना खानेबित्तिकै वा पूरा खाली पेटमा ध्यान नगर्नु राम्रो हुन्छ । पेट हल्का भएको अवस्थामा कुनै पनि वेला ध्यानमा बस्न सकिन्छ । ठिक्क भरिएको पेटमा ध्यान गर्दा शरीरका लागि उत्तम मानिन्छ ।
मुहारमा मुस्कान
प्रायः मानिस ध्यानलाई गम्भीर ठानेर ध्यानको अभ्यास गर्ने गर्छन् । यसले ध्यानलाई बाधा पुर्याउँछ । ध्यानले वर्तमान अवस्थामा राख्दछ । त्यसैले ध्यानलाई एउटा सामान्य खेलझैँ मानेर मुस्कुराएर गर्नुपर्छ । यसले मानिसलाई विश्राम अवस्थामा सहजै पुर्याउँछ ।
ध्यानको अभ्यास
अब सबै तयारी भइसकेको छ । शान्तसँग बस्नुपर्छ । धेरै विचार चलिरहेको छ भने नाकको टुप्पोमा श्वास गइरहेको र श्वास आइरहेको हेर्ने गर्नुपर्छ । यसले मनमा चलिरहेको विचारलाई कम गरेर वर्तमानमा आउन मद्दत गर्छ । कुनै कुराको विश्लेषण गर्नु हुँदैन । मनको विचार, बाहिर आइरहेको आवाजलाई पूर्ण रूपमा स्विकारेर अघि बढ्नुपर्छ । कुनै कुराको विश्लेषण भने गर्नु हुँदैन । नियमित अभ्यासपछि बिस्तारै विचार कम हुँदै जान्छ । यसका लागि राम्रो ध्यान प्रशिक्षकसँग प्रशिक्षण लिनु राम्रो हुन्छ ।
ध्यान सिद्धिएपछि के गर्ने ?
ध्यानको सिद्धिएपछि एकैचोटि आँखा खोल्नु हुँदैन । पहिला मनमनै आँखा खोल्दै छु भन्ने भाव केही समय दोहोर्याएपछि करिब तीनचोटि लामो गहिरो श्वास लिने र छाड्ने गरेर बिस्तारै आँखा खोल्नुपर्छ । जब हामी ध्यानको गहिराइमा पुग्छौँ, त्यति वेला हामी अर्कै समयमा हुन्छौँ । आँखा खोलेपछि अर्कै समयमा हुन्छौँ । त्यसैले हतासमा आँखा खोल्नु हुँदैन ।
ध्यान गरेपछि आफूलाई एक प्रकारको शान्ति, स्फूर्ति, उत्साह बढेको आभास हुन्छ । ध्यानले तनावलाई व्यवस्थापन गर्नुका साथै प्रेम, अकारण खुसी प्रदान गर्छ ।