नेविसंघ अध्यक्ष राजीनामा दिने मनस्थितिमा

काठमाडौं, माघ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को विषयलार्ई लिएर विवाद र मत भेद हुन थाले पछि अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने मनस्थिति बनाएको बताइएको छ । पार्टीका नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिने तयारी गरेको समेत जानकारीमा आएको छ ।

नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गर्न खोजेको श्रोतले बताएको छ । अध्यक्ष महर राजीनामाका लागि केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरिरहेका समेत बताइएको छ । उनले आफू पदबाट राजीनामा दिने मनस्थितिमा रहेको र संगठन र पार्टीभित्र छलफल गरिरहेको प्रतिक्रिया दिएका छन् । राजीनामाका लागि मनस्थिति बनाएको र महाधिवेशन गर्ने वातावरण नभएको बतााउँदै उनले भने, हाम्रो समय पनि सकियो । अहिले नै क्लियर भएको छैन, छलफलमा छु ।

यसअघि आइतबार पत्रकार सम्मेलन पछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको विवाद छिट्टै समाधान हुने प्रतिक्रिया दिएका थिए । नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । माघ १० गते सुरु भएको बैठकको निरन्तरता स्वरुप आज पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ ।