निगमले सबै जहाजलाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने

काठमाडौँ, माघ २९ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने जानकारी गराएको छ । विमान चालक (पाइलट) को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले बताएको हो ।

पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए । केही जहाज पाइलट अभाव तथा मर्मतका सिलसिलामा भएका जहाजबाट पनि छिट्टै उडान गर्ने तयारीमा रहेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताएका छन् । वाई–१२ जहाजमध्ये केही एक साताभित्र उडाइने, बाँकी जहाजको पनि पाइलटको व्यवस्था गरी छिट्टै पूर्ण रुपमा सञ्चालन गर्ने योजनामा रहेको उनले प्रस्ट्याएका छन् ।

सहायक प्रवक्ता कोइरालाकाअनुसार निगमका तीन पाइलटमध्ये दुई जनाले बिरामी बिदा लिएको र एक पाइलट प्रोफिसियन्सी चेक (पिपिसी) का लागि बुधबार चीन जाने तयारीमा रहेको बताइएको छ । फर्केपछि आगामी १५ तारिखदेखि वाइ १२ को उडान शुरु गरिने समेत बताइएको छ । पाइलट अभावले वाई १२ चार वटा जहाज उड्न नसकेको निगमको जानकारी गराएको छ ।

अहिले तीन वटा ट्वीन अटर जहाजले मात्र आन्तरिक उडान गरिरहेको छ । दुई एमए–६० जहाजमध्ये एक मर्मतमा रहेको र अर्को ‘टु यर्ली’ चेकको क्रममा रहेकोले यो जहाजले पनि छिट्टै उडान भर्ने निगमले प्रष्ट पारेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई एमए ६०, चार वाई–१२, र तीन ट्वीन अटर गरी नौ जहाजले विभिन्न २२ गन्तव्यमा उडान भर्दै आएका छन् ।