असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापाको दमक नगरपालिकाबाट प्रमुख तथा उपप्रमुख पदका लागि १२ जना उम्मेद्वारले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । जिल्लाकै सफा एवम् सम्वृद्ध सहरको परिचय बनाएको दमकमा चार ठूला राजनीतिक दलले मात्र नभई साझा पार्टी, विवेकशील दल, संघीय समाजवादी फोरम नेपालले समेत प्रमुख उपप्रमुखका उम्मेद्वार चयन गरेका छन् ।
दमकको नगर प्रमुखका लागि कांग्रेसले ढुण्डीराज भण्डारीलाई उम्मेद्वार बनाएको छ । एमालेबाट रोमनाथ ओली प्रमुखको उम्मेद्वार बनेका छन् । माओवादी केन्द्रले रेवतराज पुरी ‘गगन’ लाई नगर प्रमुखको उम्मेद्वार बनाएको छ । राप्रपाका तर्फबाट राम थापा, संघीय समाजवादी फोरम नेपालबाट सतिश साह, विवेकशील नेपाली दलबाट सुवास सुवेदी र साझा पार्टीका तर्फबाट अर्जुन बुढाथोकी नगरप्रमुख पदका उम्मेदवार बनेका हुन् ।
उपप्रमुखमा भने ५ जना प्रतिस्पर्धी देखिएका छन् । कांग्रेसले रेगिना भट्टराईलाई उपप्रमुखको उम्मेदवारका रुपमा उभ्याएको छ । एमालेले गीता अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट शान्ति धिमाल, राप्रपाबाट रीता श्रेष्ठ प्रमुखको उम्मेद्वार हुन् । संघीय समाजवादी फोरमले गङ्गा राई शेर्मालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । दमकमा प्रमुखको उम्मेदवार उठाइसकेका विवेकशील र साझा पार्टीले भने उपप्रमुखको उम्मेदवार तय गरेनन् ।
यस्ता छन् एजेण्डा
बिर्तामोडस्थित संवाद समूहको सचिवालयले शनिबार दमकमा आयोजना गरेको छलफलमा यी उम्मेदवारहरुले आ–आफ्ना एजेण्डा प्रस्तुत गरे । उनीहरुले बेरोजगारीको समस्या, सुकुम्बासीको समस्या, विद्युत्, खानेपानीलगायतका विषयलाई आफ्नो एजेण्डामा समेटेका छन् । दमकलाई पर्यटकीय नगरी बनाउने, वैज्ञानिक शिक्षा प्रणाली लागु गर्ने, भ्रष्टाचारमुक्त सहर निर्माण गर्ने, आयआर्जन बढाउने, बृद्धभत्ता घर–घरमा पु¥याउने पनि उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।