दमौली, फागुन ५ । भ्रष्टाचारमा सङ्लग्नलाई नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन् ।
आज तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्नेमा जोड दिए ।
देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए । पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्ने जानकारी गराएका छन् ।
संसद्मा काङ्ग्रेसको भूमिका प्रभावकारी नभएको बताउँदै उनले राष्ट्रिय महत्वका विषयमा काङ्ग्रेसले सदनबाट आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे । निकै फरक शैलीमा नेता पौडेलले काङ्ग्रेसको महाधिवेशन निर्धा्रित समयमै हुनुपर्ने बताए । वर्तमान कार्यसमितिलाई म्याद थप्ने अधिकार नभएको भन्दै पौडेलले समयमै महाधिवेशन गर्नुपर्नेमा आफ्नो स्पष्टिकरण राखे ।