पश्चिमी वायुको प्रभावले सोमबारदेखि वर्षा र हिमपात

काठमाडौँ, फागुन ५ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जानकारी गराएको छ ।

मौसमविद् मञ्जु बासीले आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारदेखि देशभरीकै मौसम पुन : प्रभावित भई झरी पर्ने बताएकी छिन् । उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिने हुँदा देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि फेरी दोहोरिने मौसमविद् बासीले बताएकी छिन् ।

मौसम पूर्वानुमान महाशाखाले राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि सोमबार पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

मङ्गलबार देशको पश्चिमी भेगमा सामान्य बदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लौ विवरणअनुसार आज काठमाडौँका अधिकत तापक्रम २० दशमलव ३ डिग्री र न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

जुम्लाको तापक्रम माइनस एकमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रहेको जानकारी पाइएको छ ।