ओली सरकारले भ्रष्टचार र बेथितीको जग बसायो : वरिष्ठ नेता पौडेल

दमौली, फागुन ६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार समृद्धिको नभई भ्रष्टचार, बेथिती र विसंगतिको जग बसालेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो एकवर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै गर्दा सम्बृद्धिको जग बसाएको बताएका थिए ।

तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेस वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने आरोप लगाएका छन् । ओली सरकारले समृद्धिको जग बसाएको भन्ने भनाईको टिप्पणी गर्दै नेता पौडेलले भने, सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुकमा अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितीको बाटोमा अघि बढेको छ ।’

वरिष्ठ नेता पौडेलले कांग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सम्पुर्ण नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसले महासमितिबाट पास भएको विधानले निमुखा कांग्रेस कार्याकर्ता तथा अवसर नपाएका कार्याकर्तामाथि न्याय गर्ने आश्वसन समेत दिएका छन् । पौडेलले विगतमा आफु बढि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुपरेका कारण जिल्लामा समय दिन नसकेको स्वीकार गर्दै अब मुलुकको राजनीति मुद्दा टुंगो लागेका कारण फुर्सद सबै बुरालाई थाति राख्दै जिल्लामा समय दिने प्रतिवद्धता जनाएका छन् ।

पौडेलले हिजोका दिनमा बढि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनुपरेको बताउँदै उनले भने, संविधान बनाउन सदनमा बढि व्यस्त भएर आउन सकिन । अब तनहुँलाई समय दिन्छु ।’ पौडेलले लोकतान्त्रीक संविधान निर्माणका लागि आफुहरुले ठूलो लडाई लड्न परेको उल्लेख गर्दै वीपी कोइराला, सुर्वणशम्सेर गणेशमान जी, किसुनजीहरुको २००७ सालदेखिको संविधानसभा मार्फत संविधान बनाउने सपना आफुहरुले पूरा गरेको प्रष्ट पारेका छन् ।

संविधान बनाउने क्रममा राष्ट्रलाई छिन्नभिन्न बनाउने प्रयास भएको उल्लेख गर्दै पौडेलले भने, त्यो कांग्रेसले रोक्यो । संविधान बनेपछि आम चुनाव कांग्रेसले गरायो । उनले संविधानसंग असहमति राख्ने शक्तीलाई संविधानको दायारामा कांग्रेसले नै ल्याएको तर चुनावमा कांग्रेसले नै हार वेहोर्नु परेको दुखेसो पोखे ।