आसफाल्ट उद्योग बन्द गराउन मेयरलाई स्थानीयबासीहरुको दवाव

ललितपुर, फागुन ७ । ललितपुर वागडोल मलपोखरीका स्थानीयबासीहरुले गैरकानूनी रुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट उद्योग बन्द गराउन महानगरपालिकालाई चर्को दवाव दिएका छन् । सो उद्योगले निकाल्ने धुवाँ र ध्वनी प्रदुशणका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै स्थानीयबासीहरुले विरोध जनाएका हुन् ।

आसफाल्ट ललितपुर महानगरपालिको वडा नं. ४ मा पर्दछ । सोमबार १०० जना भन्दा बढि स्थानीयबासीहरुले ललितपुर महानगरपालिकाको कार्यालयमा पुगेर मेयर चिरीबाबु महर्जनलाई गैरकानूनी रुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट प्लान्ट तत्काल नै बन्द गराउन ध्यानाकर्षण गराएका छन् । मेयरको कार्यकक्ष अगाडि धर्ना दिंदै उनीहरुले मल पोखरीमा सञ्चालित अबैध आसफाल्ट उद्योगका कारण मानवस्वास्थ्यमा अत्यन्तै प्रतिकुल असर परेको जानकारी गराएका छन् ।

बागडोल विकास सेवा समाजका अध्यक्ष राजेश कार्कीले उक्त स्थानमा सञ्चालित आसफाल्ट उद्योगका कारण मानव स्वास्थ्यमा नकरात्मक असर परेको प्रष्ट पारेका थिए । मल पोखरीमा सञ्चालित आसफाल्टका कारण स्थानीयबासीको स्वास्थ्यमा प्रतिकुल असर पारेको उनले बताएका छन् । हस्पिटल खोल्ने भन्दै हामीलाई झुक्याएर आसफाल्ट प्लान्ट खोलियो भन्दै उनले भने, उद्योग विभागबाट साविक किर्तिपुर गाविसमा दर्ता भएको उद्योगले ललितपुरमा उद्योग राखेको छ, यो गैर कानूनी हो ।’

बागडोलको मल पोखरीमा नेपाल आदर्श कम्पनीले आसफाल्ट प्लान्ट सञ्चालन गरेको हो । सो कम्पनीका सञ्चालक हरिप्रसाद पाण्डे रहहेका छन् । त्यस उद्योगले ध्वनी प्रदुषण तथा वातावरणमा समेत दुर्गन्ध फैल्याएको कार्कीले बताएका छन् । वि.सं. २०५३ साल पौष ९ गते काठमाण्डौमा दर्ता भएको नेपाल आदर्श कम्पनीले काठमाण्डौको किर्तिपुरमा वर्कसप तथा ग्यारेज राख्नका लागि अनुमति लिएको थियो । उद्योग दर्ता प्रमाण पत्रमा तोकिएको स्थान भन्दा अन्यत्र हुनेगरी बागडोलमा आसफाल्ट उद्योग सञ्चालन गरी कानून उल्लंघन गरेकोमा सो कम्पनीलाई २०७१ माघमा मन्त्रीपरिषदको निर्णयअनुसार ५ लाख रुपैयाँ जरिवाना समेत गरेको थियो ।

सो कम्पनीले नेपाल सरकार र सम्बन्धित निकायहरुबाट दिइएको निर्देशन समेत अवज्ञा गर्दै आएको छ । वातावरण विभागबाट अनुगमन हुँदा गैर कानूनी रुपमा उद्योग सञ्चालन गरेको र वातावरण प्रदुशण गरेको भन्दै ५० हजार रुपैया जरिवाना समेत गराइउको थियो । त्यस्तै ब्रम्हायणी महिला समुह बागडोलकी अध्यक्ष जयमाला ढुंगानाले आसफाल्ट प्लान्ट सञ्चालनका कारण प्रदुषण भएको, बच्चाहरु विरामी भइरहने गरेको जानकारी गराएकी छिन् । हावा चलेको बेला कालो धुलो आउँने बताउँदै उनले भनिन्, सुकाएका लुगाहरु सबै मैला हुन्छन्, ध्वनी प्रदुशणका कारण धेरै दुःख पाएका छौं’ वागडोलकै तुलसा मगरले स्थानीय प्रहरी प्रशासनले संरक्षण गरेका कारण स्थानीयहरु समस्या परेको छ ।

विहान उठ्दा घाँटी दुख्ने गरेको उनले सुनाइन् । बच्चाहरुमा टाउको दुख्ने समस्या बढ्दै गएको उनले बताइन् । बच्चाहरु घरमा पस्नै नमान्ने समेत उनले सुनाइन् । आफ्ना बालबालिकाहरुको स्वास्थ्यमा प्रभाव पर्ने भएकाले सरकारले यस्ता उद्योग कुनै पनि हालतमा त्यहाँ सञ्चालन गर्न दिन नहुने ब्रम्हायणी महिला समुह बागडोलकी रुपा दंगालले बताइन् ।

आक्रोशित रुपमा प्रस्तुत भएका स्थानीयहरुको गुनासो सुनिसकेपछि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वडा नं. ४ वागडोलको मल पोखरीमा सञ्चालित अवैध आसफाल्ट प्लान्ट बन्द गराउने प्रतिवद्धता जाहेर गरेका छन् । वातावरण प्रदुषण गर्ने यस्तो उद्योग मानवबस्तीमा सञ्चालन गरेर नगरवासीको स्थास्थ्यमा खेलवाड गर्न कसैलाई महानगरले छुट नदिएको बताउँदै उनले भने, हरेक पषबाट अबैध मानिएको यो संस्था तत्काल बन्द गराएर छाड्छौ ।

मेयर महर्जनले वडा अध्यक्षको समन्वयमा महानगरपलिकाले स्थानीयबासीहरुको साथ लिएर उक्त कम्पनी मानवबस्तीमा सञ्चालन गर्न नदिने जानकारी गराएका छन् । उनले भने, ‘त्यो कम्पनीको चिम्नीबाट धुवाँ आयो भने मलाई खबर गर्नुस् । म जे गर्नु पर्छ, त्यो सबै गर्छु ।’ मेयर महर्जनले घुस्याहाहरुको दवाबमा गैरकानूनी काम गर्नेहरुलाई छुट नदिने प्रष्ट पारेका छन् ।

मेयरको प्रतिक्रिया सुनेपछि मानववस्तीमा सञ्चालित गैरकानूनी आसफाल्ट उद्योग बन्द गराउन दवाव दिन आएका स्थानीयहरुले यथाशीघ्र उक्त उद्योग बन्द नभए कडा रुपमा प्रस्तुत हुने चेताावनि दिदै बाहीरिएका थिए ।