काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीलाई मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न पनि सरकारसँग माग गरिएको छ । हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका विषयमा माग राखी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न सरकारलाई दबाब दिन भन्दै मंगलबारबाटै जनसंघर्षका कार्यक्रम पनि घोषणा गरेको छ । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सो ज्ञापन पत्र बुझ्दै राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढ्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका थिए ।
उनले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने समेत प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्न सरकार क्रियाशील रहेको प्रस्ट्याएका छन् ।