काठमाडौँ, फागुन ७ । सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताएका छन् । उनले खेल प्रशिक्षक, कोचलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको बताएका छन् ।
मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको समेत प्ष्ट पारेका छन् । विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि ३ वर्ष भित्र काठमाडौं उपत्यका भित्र अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जाहेर गरेका छन् ।
सो काार्यका लागि जग्गा प्राप्तीको कामलाई अघि बढाएको मन्त्री विश्वकर्माले सुनाए । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको समेत उनले जानकारी गराएका छन् । मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय भएको प्रष्ट पारेका छन् । सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई तव्रिता दिइएको बताइएको छ ।
बैठकमा बोल्दै समितिका सदस्यहरुले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य जीवनराज श्रेष्ठले बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको प्रष्ट पार्दैै त्यसमा लगानी बढाउन सरकारसँग माग गरेका छन् ।
त्यस्तै समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनौट निष्पक्ष ढंगले गर्न समेत सरकारलाई सचेत गराएका छन् । उनले प्रतिभाशाली खेलाडीहरुलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदको क्षेत्रमा फड्को मानेमा दुई मत नभएको समेत प्रष्ट पारेका छन् ।