काठमाडौँ, फागुन ९ । लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ । लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा महाशाखाको टोलीले कारवाही गरेको हो ।
माघ २७ गतेदेखि प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे/नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो ।
यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताउँदै सो कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको बताएका छन् ।
लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था निर्देशनालयले मिलाएको थियो । सोही एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने जानकारी पाइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश नं ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । महाशाखाले कानून नमान्ने सवारी साधनलाई रु एक हजार जरिवाना गरिएको छ ।