मजदूर सङ्गठनबाट ४८ हजार चालकलाई प्रशिक्षण

काठमाडौँ, फागुन १२ । सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ ।

पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सङ्गठनले सोही अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै सो अभियान सञ्चालन गर्न लागेको उनले बताए ।
उनी भन्छन्, सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिने, जसले गर्दा दुर्घटनामा कमी आआस ।

सङ्गठनले सवारी ‘दुर्घटना न्यूनीकरण सम्भव छ’ भन्ने नारासहित देशभर रहेका मजदूर सङ्गठनमध्ये प्रत्येक महिना एकपटक न्यूनतम २० जना चालक तथा सहचालकलाई जम्मा गरेर ट्राफिक प्रहरीमार्फत प्रशिक्षण गराउने भएको छ ।
अभियानअन्तर्गत सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर निर्माण गरी सबै सार्वजनिक यातायातमा टाँस्ने समेत भएको छ । स्टिकरमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदिन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ, महिला, बालबालिका तथा अशक्तलाई सम्मान गर्छु, बालश्रम प्रयोग गर्दिनँ, तीव्र गतिमा सवारी चलाउँदिन, तोकिएको भन्दा बढी भाडा लिन्नँ, सधैँ ट्राफिक नियमको पालना गर्छु लगायतका वाक्यहरू प्रयोग गरिएका छन् ।

यस्तै, यातायात मजदूरलाई हुने रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गौलाजस्ता रोग परीक्षणका लागि शिविर राखी निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्त सडक दुर्घटनाबाट वार्षिक दुई हजार ५०० देखि तीन हजारसम्म मानिस मर्ने गरेको बताउँछन् । सडकमा हुने दुर्घटना रोक्न प्रशिक्षण फलदायी हुनेछ, उनले बताए । सबै चालक तथा सहचालक जिम्मेवार भए सवारी दुर्घटनामा ठूलो कमी आउने उनको तर्क छ ।