काठमाण्डौ, फागुन १२ । नेपालमा हरेक वर्ष सय वा सयभन्दा बढी फिल्म प्रदर्शनमा आउँछन् तर मुश्किलले तीनदेखि चारओटा फिल्म मात्र हिट हुन्छन् । दुईदेखि तीन फिल्मले जेनतेन लगानी सुरक्षित गर्दछन् । बाँकी अधिकांश फिल्मले त लगानीको आधा प्रतिशत त टाढाको कुरा भित्तामा टाँस्नका लागि तयार पारिएको पोस्टरको पैसा समेत उठाउन सक्दैन । हरेक वर्ष निर्माताहरुको करीब एक अर्बको लगानी बालुवामा पानी हालेझैँ भइरहेको छ ।
यस वर्ष ’रामकहानी’ र ’रोज’ को भिडन्तले सिनेजगतमा भुइचालो नै आएको थियो । यही फागुन १७ मा ’क्याप्टेन’ र ’द ब्रेकअप’ भिड्दैछन् । भने, चैत २९ मा निकै आश गरिएका ’ए मेरो हजुर ३’ र ’यात्रा’ एकअर्कासँग भिड्न तयार छन् । ’रिलिज वार’ यस वर्षका लागि मात्र सीमित छैन ।
अर्को वर्षको जेठ ३ मा पनि ठूलै भिडन्त हुने सम्भावना बढ्दो छ । यस मितिमा दर्शक र फिल्म क्षेत्रले निकै आश गरेका दुई फिल्म भिड्ने तय भएको छ । ती दुई फिल्म हन् ( ‘वीरविक्रम २’ र ‘प्रेम दिवस’ । यो डेट सबैभन्दा अगाडि योगेश घिमिरे निर्देशित फिल्म ‘प्रेम दिवस’ ले रोजेको थियो । शुक्रवार मात्र निर्देशक मिलन चाम्स निर्देशित ‘वीरविक्रम २’ ले पनि सो मितिमा फिल्म रिलिज गर्ने निर्णय र्गयो ।
दुबै फिल्ममा नाम चलेका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।
फिल्म ‘वीरविक्रम २’ मा पल शाह, नाजिर हसेन र वर्षा सिवाकोटी लिड रोलमा छन् । यो फिल्मको ’पिरतीको मिठो तिर्स’ना बोलको गीत यतिबेला चर्चामा छ । हिट फिल्म ‘वीरविक्रम’ को सिक्वेल भएका कारण पनि यो फिल्मप्रति दर्शकको चासो अलि बढी नै छ ।
‘प्रेम दिवस’ मा भने ’रियल’ जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रमुख भूमिका छ । जेठ ३ आउन अझै केही महिना बाँकी नै छ । तर, ‘वीरविक्रम २’ र ‘प्रेम दिवस’ एकसाथ प्रदर्शनमा आएको खण्डमा व्यापारिक घाटा दुबै फिल्मले सहनु पर्ने देखिन्छ । यदि भिडन्त भयो भने कुन कति पानीमा हुनेछ ? त्यो भने समयले साक्षतकार अवश्य नै गर्नेछ । दुवै फिल्ममा अग्रिम शुभकामना ।