ललितपुर महानगरपालिकाले आरोही कल्पना महर्जनलाई ३० लाख रुपैयाँ प्रदान गर्ने

ललितपुर, फागुन १३ । पर्वतारोही कल्पना महर्जनको (Back To Everest: A Campaign against Child Marriage – 2019) सगरमाथा आरोहणका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा ललितपुर महानगरपालिका र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा. लि. बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हिजो आइतबार महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । सो सम्झौतापत्रमा ललितपुर महानगरपालिकाकातर्फबाट मेयर चिरीबाबु महर्जन र एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा. लि.का तर्फबाट अध्यक्ष रबिन्द्र महर्जनले हस्ताक्षर गरेका छन् ।

पर्वतारोही कल्पना महर्जनले यस अघि सन् २०१८ मा दक्षिणी मोहोडाबाट पहिलो पटक सरगमाथा आरोहण गरिसकेकी छन् । यस पटक उत्तरी मोहोडाबाट सरगमाथा आरोहण गर्ने तयारी रहेको छ । यसका लागि ललितपुर महानगरपालिकाले आरोही कल्पना महर्जनलाई ३० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं बर्ष प्रबेश तथा ललितपुर महानगरपालिका स्थापनाको १०० वर्षको अवसरमा महानगरले यो रकम उपलब्ध गराउने भएको छ । आरोही कल्पना महर्जनले ललितपुर महानगरपालिकाको नाम र लोगोअंकित झण्डा र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तश्वीर अंकित व्यानर सगरमाथाको चुचुरोमा फहराएर सोको फोटो महानगरपालिकालाई उपलब्ध गराउनु पर्ने जवानकारी गराइएको छ ।

महागरपालिकाले प्रदान गर्ने रकम मध्ये ८० प्रतिशत सम्झौता भएसंगै उपलब्ध गराउने बताइएको छ । बाँकी २० प्रतिशत कार्यप्रगतिको प्रतिवेदनको आधारमा उपलब्ध गराउने छ । सम्झौतापत्र हस्ताक्षरपछि ललितपुर महानगरपालिकाका मेयर महर्जनले आरोही कल्पना महर्जनलाई सफलताको शुभकामना दिएका छन् । मेयर महर्जनले सगरमाथाको सफल आरोहण गरेर आए पश्चात आरोही महर्जनलाई एक वर्षका लागि महानगरपालिकाको सदभावना दुतको रुपमा विभिन्न कार्यक्रममा सहभागी गराउने बताएका छन् ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । साथै एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा. लि.का तर्फबाट अध्यक्ष रबिन्द्र महर्जन र आरोही कल्पना महर्जनको उपस्थिति रहेको थियो ।