काठमाडौँ, फागुन १३ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग र संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरबिच दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको छ ।
पोखरेलसँग नेपाल भ्रमणमा रहेका फेल्टरले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरेका छन् ।
भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरेको बताइएको छ ।
उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो स्थितिमा नेपाललाई अमेरिकाले सहयोग गरेको स्मरण गर्दै नेपालका सुरक्षा अङ्गलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि विमर्श भएको सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।
उनले नेपालले कुनै पनि अन्तर्राष्ट्रिय र क्षेत्रीय सैन्य संरचनामा सहभागिता नजनाउने भए पनि दुई देशबीचको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य हुने पर्ने प्रस्ट्याएका छन् ।