धर्म छान्ने अधिकार व्यक्ति स्वयम्को हो : नेता थापा

काभ्रेपलाञ्चोक, फागुन १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा हरेक नागरीकले आफ्नो धर्म आफैले नै छनोट गर्न पाउने उसको निजी विचार र अधिकार भएकाले धर्म परिवर्तन गर्ने अभ्यासलाई सबैले हत्तोत्साहि गर्दै रोक्नुपर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन मङ्गलबार सहभागी हुनु पुगेका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको को पालना गर्दा आफुलाई उत्तम हुने भन्ने कुरा नितान्त निजी कुरा भएकाले कसैको करकाप र प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।

धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्नेमा उनले जोड दिएका छन् । आफ्नो देशभित्र अन्य देशका धर्मका बारे प्रचार भएको पाइएमा मौन नबस्न सरकारलाई आग्रह गर्दै उनले भने, त्यो राज्यको दायित्व हो । धर्म परिवर्तन गर्ने कुरालाई पूर्णरूपमा रोक्नुपर्ने स्पष्ट पार्दै थापाले त्यसको अधिकार संविधानले नै नेपाल राज्यलाई दिएको जानकारी गराएका छन् ।

उनले गाउँगाउँमा लाग्ने गरेको महायज्ञ धार्मिक प्रचारप्रसारको माध्यम भएकाले त्यसलाई सहयोग गर्नु सबैको दायित्व भएको प्रष्ट पारेका छन् । थापाले हिन्दू, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा सबैको दायित्व र कर्तव्य भएको बताएका छन् । तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले जानकारी गराए ।

मन्दिर निर्माणका साथै अन्य भौतिक संरचना निर्माणसहितको लागि करीब रु दुई करोडको गुरुयोजना तयार पारी काम अगाडि बढाइसकिएको लामाले बताएका छन् । सो महायज्ञमा कथा व्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको कथा वाचन रहेको छ । सो महायज्ञ आगामी २१ गतेसम्म चल्ने आयोजकले जानकारी गराएको छ ।