ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि आजै टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सरेको छ ।
सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ । यद्यपी सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलि बिहान ८ बजेका लागि सारिएको बताइएको छ ।
शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठका अनुसार शवको पहिचान नभएकाले शवको डिएनएका समय लाग्ने भएको हो । दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिनको लागि टुँडिखेलमा तयारी गरिएको थियो । श्रद्धाञ्जली दिनको लागि अहिले टुँडिखेलमा सर्वसाधारणको घुइँचो लागे पनि श्रद्धाञ्जली दिन उपस्थित शुभचिन्तक सबै उसै फर्कनु पर्ने भएको छ ।
बुधबार मौसम प्रतिकूलका कारण शव काठमाडौं ल्याउन सकिएको थिएन । सातै जनाको शव बिहिबार दिउँसोमात्र काठमाडौं ल्याइएको हो । शिक्षण अस्पतालमा पोष्टमार्टमपछि सबै शवलाई सामूहिक श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए । उनले दिएको जानकारी केहि क्षणमा नै परिवर्तन भई भोलि मात्र श्रद्धाञ्जलीका लागि टुँडिखेल राखिने भएको हो । दिउँसो ३ बजे देखि श्रद्धाञ्जलीका लागि उनीहरूको शव टुँडिखेलमा राखिने भनिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र उनका पिएसो अर्जुनकुमार घिमिरेको शव पहिचान भैसकेको छ । सँगै दुर्घटनामा परेका यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका पाइलट प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभाया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालको शव पहिचान भएको छैन । टुँडिखेलमा श्रद्धाञ्जली गरेपछि ती सबै शव अन्त्येष्टिका लागि आफन्तलाई बुझाइनेछ ।
मन्त्री अधिकारको शव भने शुक्रबार गृह जिल्ला कास्कीमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ । तेह्रथुमका चिहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दाह्रेभीरमा हेलिप्कटर दुर्घटनामा परेको थियो । निधन भएका मन्त्री अधिकारीसहित सातै जनाको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ भने सबैको शव राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ ।