इस्लामावाद, फागुन १७ । बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरिदिएको छ । पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको बताइएको छ ।
अब उनलाई पञ्जावको वगाहा(आरती नाकाबाट भारत ल्याइने छ । भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम भारत ल्याउने जानकारी गराएको छ । उनी स्थानीय समयअनुसार तीन बजे भारतीय भूमिमा आइपुग्ने जानकारी गराइएको छ ।
बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेनाको जहाजलाई विवादीत कस्मिरमा खसालेको थियो । सो जहाजमा रहेका पाइलटलाई पछि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । भारतले दिल्लीस्थित पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएर अभिनन्दनको रिहाइको माग गरेको थियो ।
बिहीबार पाकिस्तानको संसदमा बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेतस्वरूप वायु सेनाका चालकलाई भारतलाई बुझाउने बताएका थिए । फेब्रुरुअरी २६ मा भारतीय सैनिक जहाजले पाकिस्तानी भूमिमा बम खसालेपछि चुलिएको भारत(पाक सम्बन्धको तनाव अभिनन्दनको रिहाइसँगै मत्थर हुने अपेक्षा गरिएको छ ।
एजेन्सी