काठमाडौं, साउन १८ । सरकारले चीन सरकारको सहयोगमा सिहंदरबारमा एक मेगावाटको सोलार जडानको कार्य थालेको छ । ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि प्राविधिक रुपमा सम्भव नभएपछि अहिले एक मेगावाट मात्र बिजुली उत्पादन गर्न लागिएको हो ।
सिंहदरबारमा सोलार बिजुली जोड्न चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । सोलार जडान गर्नका लागि सोलारका प्यानसहितका सामग्रीहरु ल्याइसकिएको छ ।सोलर सिस्टमको जडानको कामलाई तीव्रता दिई ४ महिनाभित्र सोलारबाट बिजुली बालिसक्ने उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे बताए । सिंहदरबारमा लाइन जाँदा र अरु बेलामा पनि उपलब्ध भएसम्म सोलार कै बिजुली बाल्ने प्रवक्ता घिमिरेले जनाउँदै यसबाट सफल भए सरकारी कार्यालयमा पनि सोलार सिस्टम जडानका लागि प्रोत्साहन गरिने जनाए ।
सिंहदरबार भित्रका २१ वटा भवनमा सोलारका प्यानल राखि ती प्यानलबाट जम्मा हुने बिजुलीलाई एकीकृत गरी सिहंदरबारभित्र नै प्रयोग गर्ने सरकारको योजना छ । सिहंदरबारमा उत्पादन हुने एक मेगावाट बिजुली त्यहाँका लागि नपुग्ने भएकाले विदाका दिन सिंहदरबारको बिजुली ग्रीडमा जोड्ने व्यवस्था गर्ने सरकारी तयारी छ । सिंहदरबार भित्र रहेको प्राधिकरणको सब–स्टेनशनमा विदाका दिन सोलार विजुली जोड्ने गरी योजना बनाइएको छ ।
झण्डै ५ वर्ष अघिदेखि नै सिंहदरबारभित्रै सोलार प्यानल राखेर ५ मेगावाट सौर्य विद्युत उत्पादन गर्ने निर्णय गरिएको भए पनि अध्ययन प्रक्रियामा भएको ढिलाइका कारणले पहिलेको योजना अनुसार काम हुन नसकेको हो । सिंहदरबारभित्र अहिले झण्डै १ मेगावाट भन्दा बढी बिजुली खपत हुँदै आएको छ । सरकारले बनाएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनामा सिंहदरबारसहित अस्पताल, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, हनुमानढोका क्षेत्र, पशुपति विकास क्षेत्रमा सौर्य ऊर्जा प्रणालीबाट विद्युत् आपूर्ति गर्ने उल्लेख गरिएको छ ।