विराटनगर, फागुन १९ । नेपाली कांग्रेसका नेता, प्रखर वक्ता एवम् केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन हुनु नै अति उत्तम भएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङशाखाद्वारा आज आयोजना गरिएको पत्रकार भेटघाटमा पार्टी महासमितिको निर्णयलाई फेरबदल गर्नु नेतृत्वको ठुलो भुल तथा कमजोरी भएको प्रष्ट पारेका छन् । नेतृत्व तहमा रहने व्यक्तिको इच्छा अनुसार मात्र पार्टी चल्न नसक्ने बताउँदै उनले भने, नेतृत्वकर्ताले सबैको भावना र मत अनुसार पार्टीलाई अघि बढाउनु पर्छ । उनले तलैबाट निर्वाचित भएर आउनुपर्ने लोकतान्त्रिक पार्टीको गुण नै भएकोले यस्तो प्रावधानलाई परिवर्तन गर्न नहुने बताए ।
अहिलेको अवस्थामा पनि बहुमतको आधारमा पार्टी चलाउन खोजे ठूलो दुर्घटना हुन सक्छ । नेता केसीले कांग्रेसको विधान पूर्णरुपमा समावेशी र लोकतान्त्रिक रहेको प्रष्ट पार्दै संघीयताको मूलमर्म सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउनु रहेको जानकारी गराएका छन् ।
वर्तमान चुनौतीलाई सामना गर्नसक्ने नेतृत्वको कमीलाई पूरा गर्न पार्टीको महाधिवेशन समयमै हुनुपर्नेमा उनले जोड दिएका छन् । संविधानको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने उनको धारणा छ ।
पूर्वमन्त्री केसीले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए को हो त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् । उक्त प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस् भनी माग गरेका छन् ।
केसीले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको र सरकारी छानबिन समिति बनाएर झन् उसको अभिष्ट उदांगो पारेको आरोप लगाएका छन् । वाइडबडी खरिदमा भएको अनियमिमतामा संलग्न जो भएपनि कारवाहीको दायरामा ल्याइनुपर्ने केसीले बताएका छन् ।
अरबौ रुपैयाँ घोटाला भएको यो काण्डमा को को संलग्न छन् भनेर अनुहार हेर्ने जनतलाई निकै इच्छा रहेको र सो घडिको प्रतिक्षामा जनता बसेको उनले बताएका छन् । सरकार भने यो विषयलाई मोड्ने प्रयास गरेको उनले आरेप लगाएका छन् ।
सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै उनले बुढीगण्डकी, वाइडबडी खरिद, फोरजी इजाजत जस्ता विषयले नेपालकै बदनामी भएको बताए । आफु पनि आगामि महाधिवेशनमा सभापतिको आकांक्षी भएको जानकारी गराउँदै सबैको सरसल्लाह र सहमतिमा मात्र निर्णय लिने बताएका छन् ।