काठमाडौँ, फागुन २० । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको रातिदेखि नै लागेको भीड अहिलेसम्म पनि कायम नै रहेको छ । यस पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ ।
बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसि दर्शन गर्ने क्रम जारी रहेको छ । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताएका छन् ।
ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उनले जानकारी गराएका छन् । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ । दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताएका छन् । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जानकारी गराएको छ ।
तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिएको छ । हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका थिए ।
आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गरिएको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा समेत प्रतिबन्ध लगाइएको छ । मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
आज विहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, गुप्तेश्वर महादेव, विन्ध्यवासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीस्थित शिव मन्दिरलगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध छन् ।
यसै अवसरमा प्राचीन तथा पुरातात्विक महत्व राख्ने महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेवको मन्दिर र जिल्लाका सबै शिवालयमा आज भक्तजनको भीड लागेको छ । महोत्तरीको जलेश्वर राजा जनकको राजधानी जनकपुरको दक्षिणद्धारको रुपमा रहेको पुराणमा वर्णित छन् भने पदम पुराणका अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो । रुद्रायतन्त्र ग्रन्थमा त्रेता युगमा राजा जनकको राज्यको सिमानाको चारैतिर सीताको रक्षाकवचको रुपमा स्वयं महादेवले पहरेदारी दिने भएकाले जनकपुरको पूर्वोतर कुनामा कपिलेश्वरनाथ, उत्तरमा क्षिरेश्वरनाथ, दक्षिणपूर्वमा कल्याणेश्वर र पश्चिम दक्षिण कुनामा जलेश्वरनाथ महादेव प्रतिष्ठित भएकाले यो महादेवको दर्शन गर्नाले चार देवस्थलको पुण्य मिल्ने विश्वास रहेकाले पनि सो स्थानमा दर्शनार्थीको भीड लाग्ने गरेको हो ।
उक्त स्थानमा शिवलिङ्ग बाहै्रकाल जलाशयमा रहने हुँदा जलेश्वर नाथ नामकरण भएको किम्वदन्ती रहेको छ । पौराणिक मतअनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शनमात्रले सम्पूर्ण पापकट्टि भई पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको भीड लाग्ने गरेको हो ।
साथै यस पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । सोमबार श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकोले यस पटकको शिवरात्रि निकै पुण्यदायक मानिएको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताएका छन् ।
कालीगण्डकी नदी किनारमा विशाल नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ । म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङ, पर्वत, बागलुङ, कास्की, चितवनलगायतका जिल्लाबाट गलेश्वरको दर्शनका लागि भक्तजन आएको बताइएको छ ।
महाशिवरात्रिको अवसरमा धेरै भत्तजन निराहार व्रत बस्ने तथा अधिकांशले दर्शनपश्चात् मात्र अन्न जल ग्रहण गर्ने परम्परा रहेको छ । व्रतमध्ये सर्वोत्कृष्ट मानिने महाशिवरात्रिका दिन भक्तजन व्रत बस्दै भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ । आजको दिन विभिन्न सार्वजनिक चोक र मठमन्दिरमा काठका मुढा बालेर धुनी जगाई भजनकीर्तन गर्ने प्रचलन छ ।
महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको कोषले जानकारी गराएको छ ।