ललितपुरका हरेक वडामा सार्वजनिक शौचालय बनाइदै

ललितपुर, फागुन २० । ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय संघ संस्थासँगको सहकार्यमा सार्वजनिक शौचालयको निर्माण गर्ने बताएको छ । महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर हरेक वडामा नै शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जानकारी गराएको छ ।

महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले प्रष्ट पारेका छन् । शौचालय निर्माण आवश्यक भएको स्थानीयवासीबाट अत्याधिक माग आएपछि निर्माण गर्ने योजना बनाइएको प्रवक्ता महर्जनको धारणा छ ।

उनले आवश्यक भएका ठाउँ हेरेर नयाँ शौचालय निर्माण गरिने र खराब अवस्थाका रहेका शौचालयलाई सुधार गरेर प्रयोगमा ल्याउने योजना रहेको जानकारी गराएका छन् । साथै उनले शौचालय बनाउन विभिन्न संस्था इच्छुक देखिएका बताएका छन् ।

बसपार्क, विभिन्नचोकलगायत भीडभाड हुने ठाउँमा शौचालय बनाउने योजना रहेको उनले प्रष्ट्याएका छन् । प्रत्येक वडामा कम्तीमा एउटा शौचालय निर्माण हुने गरी सम्झौता गरिनेछ ।

स्थानीयवासीको संलग्नतामा निर्माण हुँदा त्यसको संरक्षण हुने महानगरको विश्वास रहेको उनको भनाई छ । पहिले उपमहानगरपालिका हुँदादेखि नै ललितपुरमा एकाध भन्दा शौचालय छैनन् ।