ललितपुर, फागुन २१ । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो ललितपुर महानगरपालिका भित्र बाट नै सञ्चालनमा आएको हो । मंगलबार खानेपानी मन्त्री बिना मगरद्धारा उद्घाटन भएको यो ‘वाटर एटीएम’ बाट २ रुपैयाँमा एक गिलास पानी पिउन पाइने व्यवस्था मिलाइएको छ ।
काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डको लागनीमा ‘वाटर एटीएम’ पानी पंधेरो महानगर हाताबाट सञ्चालनमा आएको हो । यो ‘वाटर एटीएम’ पानी पंधेरोको सञ्चालनका लागि सुपिङ इन्टरनेशनल नेपालले ३ महिनासम्म समन्वय गर्ने बताइएको छ। त्यसपश्चत काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्ड र ललितपुर महानगरपािलकाले व्यवस्थापन गर्ने तय भएको जानकारी गराएको छ। सो स्थानमा ‘वाटर एटीएम’संगै कागजको गिलास राखिएको छ । त्यहाँ रहेको गिलास लिएर ‘वाटर एटीएम’मा २ रुपैयाँको सिक्का राखेपछि एक गिलास पानी लिएर पिउन सकिन्छ। यो आधुनिक प्रविधिको विकासले खानेपानीको प्यास मेटाउनका लागि सहजता वनाइदिएको छ ।
‘वाटर एटीएम’को उद्घाटन गरीसकेपश्चत मन्त्री मगर र महानगरपालिकाकी उपमेयर गीता सत्यालले वाटो हिडिरहेका केही बटुवाहरुलाई समेत वोलाएर पानी पिलाउन भ्याएका छन् । नयाँ सिस्टम देखेर हर्षित महानगरपालिकाका कर्मचारीहरुले समेत सिक्का लिएर लाइन लागेर पानी पिएका थिए । ‘वाटर एटीएम’को उद्घाटन गर्दै मन्त्री मगरले ललितपुर महानगरपालिकामा नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ सञ्चालन गरेर नयाँ कामको थालनी भएको वताइन् । मन्त्री मगरले भनिन्,‘स्वच्छ पानी पाउने आममानिसहरुको चाहानालाई यसले पूरा त गर्छ, यसका अलवा वातावरण प्रदुशण गर्ने प्लाष्टिक वोतललाई समेत निरुत्साहित गर्न मद्दत पुर्याउँछ ।’ उनले यस्तो महत्वपूर्ण कामको सुरुवात गरेकोमा काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डलाई धन्यवाद समेत दिएकी छिन् ।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यो ‘वाटर एटीएम’को सञ्चालनले आर्थिक मितव्ययिता र वातावरण स्वच्छ राख्नका लागि सहयोग पुर्याउने वताएकी छिन् । उनले भनिन्,‘यो हाम्रो लागि नौलो मात्रै हैन, महत्वपूर्ण काम समेत हो, यस्ता ‘वाटर एटीएम’हरु महानगरका अन्य स्थानहरुमा पनि सञ्चालनमा ल्याउन अति आवश्यक छ ।’
ललितपुर महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रेमप्रसाद भट्टराईले महानगरभित्र मानिसहरुको बाक्लो उपस्थिति हुने विभिन्न स्थानहरुमा ‘वाटर एटीएम’ सञ्चालनका लागि महानगरपालिकाले स्थान उपलब्ध गराउन सक्ने समेत जानकारी गराएका छन् । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डले काठमाण्डौ उपत्यकाका अन्य १९ स्थानमा समेत यस किसिमको ‘वाटर एटीएम’ सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी गराइएको छ ।