ललितपुर, फागुन २३ । ‘जहाँ महिला, त्यहाँ विकासको पाइला’ मुल नाराका साथ ललितपुरमा महिला उद्यमीद्धारा उत्पादित सामग्रीहरुको प्रदर्शनी सुरु भएको छ । १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुर महानगर परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । सो प्रदर्शनी विहिबारबाट सुरु भएको शनिबारसम्म चल्नेछ ।
प्रत्येक वर्ष मार्च ८ तारिकलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ । प्रर्दशनीमा ललितपुर महानगरपालिकाभित्रका १७ वटा महिला समूह, सहकारी तथा संघसंस्थाहरुले स्टल राखेका छन् । ‘लैगिक समानताको लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्दै यस वर्ष नेपालमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ ।
३ दिने प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रदर्शनी गरेर उनीहरुको आर्थिक उन्नतीमा सहयोग पु¥याउनका लागि महानगरले पहल गरेको जानकारी गराएकी छिन् । उपमेयर सत्यालले नारी दिवस मनाउने नाममा र्यालीमा हिडाएर मात्रै महिलाहरुको उन्नती नहुने बताएकी छिन् । उनले महिलाहरुको आर्थिक उन्नती हुने खालका कामहरु गर्नु आवश्यक रहेको औंल्याएकी छिन् ।
महिलाहरुको शसक्तिकरणका लागि उनीहरुको आर्थिक उन्नती हुने खालका कामहरु गर्नु पर्नेमा उपमेयर सत्यालले जोड दिएकी छिन् । सत्यालले यस किसिमको प्रदर्शनीले महिला उद्यमीहरुमा हौसला मिल्ने वताएकी छिन् । प्रदर्शनीले ललितपुर महानगरपलिकाका सम्पूर्ण महिला उद्यमीहरुको हौसला बढेको विश्वास महानगरले लिएको उनले बताएकी छिन् । नारी दिवसको अवसर पारेर मात्रै भन्दा पनि अन्य विभिन्न समयमा पनि यस्ता प्रदर्शनीहरु आयोजना गरेर महिलाहरुको क्षमता, दक्षता र सीप विकासमा योगदान पु¥याउनु पर्ने जानकारी गराएकी छिन् ।
त्यस्तै ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले महिलाहरुले उत्पादन गरेका सामग्रीहरुलाई बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि ललितपुर महानगरपालिका भित्रका सबै महिला समुह, सहकारी तथा महिलाहरुद्धारा सञ्चालित विभिन्न संघसंस्थाहरु समेतलाई समेटेर बृहत किसिमको प्रदर्शनी आयोजना गर्ने जानकारी गराएका छन् ।