ललितपुर, फागुन २७ । गोदावरी नगरपालिकाले सोमबार भव्यताका साथ तेस्रो स्थापना दिवस मनाएको छ । सो अवसर पारेर नगरपालिकाले तयार पारेको नगर गीत फुल्चोकीको शीर, बाग्मतीको तीर भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले सार्वजनिक गरेका छन् ।
महासेठले गोदावरी क्षेत्र पर्यटकीय रुपले अत्यन्तै सुन्दर रहेको समेत चर्चा गरेका थिए । उनले विकास निर्माणका काम क्रमशः हुँदै जाने भएकोले त्यसलाई क्रमिक रुपमा सवैले आ–आफ्नो स्थानवाट पहल गरिनुपर्नेमा जोड दिएका छन् । बजेटको हिसावले कुनै कमी नआउने प्रष्ट पार्दै महासेठले भने, तर विकास निर्माणका कामलाई तीव्र रुपले अगाडी बढाउनुपर्छ ।
विस २०७४ सालमा सम्पन्न भएको तीनै तहको निर्वाचनले तीनै तहको सरकार निर्माण भएको उनले स्पष्ट पारेका छन् । स्थानीय निकायको सही कामलाई प्रदेश वा केन्द्रले हस्तक्षेपकारी भूमिका खेल्नु उचित नहुने उनको ठहर छ । यसै गरी प्रदेशले लिएको सकारात्मक कामलाई समेत केन्द्र सरकारले हस्तक्षेप गर्न नमिल्ने उनले बताएका छन् ।
उनले सातदोवाटो–चापागाउँ–गोदावरी खण्डको सडक मापदण्ड अनुरुप नै निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । महासेठले विकास निर्माणका काममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत जाहेर गरेका छन् । बाटो निर्माण भविष्यलाई हेरेर मात्र निर्माण गरिनुपर्ने उनको धारणा छ ।
नगरप्रमुख गजेन्द्र महर्जनले नगरपालिकाको तेस्रो स्थापना दिवससम्म आइपुग्दा नगरपालिकाले विकासका कामहरुलाई तीव्र रुपले अगाडि बढाइरहेको जानकारी गराएका छन् । प्राकृतिक रुपमा सुन्दर रहेको गोदावरीलाई धार्मिक–पर्यटकीय रुपमा विकास गरिँदै लैजाने लक्ष्य रहेको उनले बताएका छन् ।
जनतिनिधि भएर नगरपालिकामा आइसकेपछि यस क्षेत्रको विकासमा सदैब आफु तीव्र रुपमा अगाडि बढि रहेको सुनाए । गोदावरी क्षेत्रमा रहेको खानोपानीको समस्याको समाधान क्रमिक रुपमा भईरहेको नगरप्रमुख महर्जनले जानकारी गराएका छन् । खानेपानी समस्या समाधानका लागि हालसम्म तीनवटा डिप बोरिङ सम्पन्न भइसकेको तथा अर्को एउटा शुरु भइरहेको उनले सुनाए ।
साथै गोदावरी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने गरी गोदावरी बहुउद्देश्यीय रङ्गशालाको निर्माण भइरहेको उनले प्रष्ट पारेका छन् । यसै गरी काठमाडौं उपत्यकालाई नियाल्न सकिने गरी देवीचौरमा भ्यूटावरको निर्माण कार्यको प्रारम्भ गरिएको उनले बताएका छन् । विकास निर्माणको काममा जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै नगरउपप्रमख मुना अधिकारीले समृद्ध नगरपालिका निर्माण कार्यमा सवैको साथ र सहयोग अपरिहार्य रहेको औंल्याएकी छिन् । उनले यस क्षेत्रलाई साँच्चै नै नमुना नगरपालिका बनाउने लक्ष्यमा सिङ्गो नगरपालिका जुटेको स्पष्ट पारेकी छिन् । स्थापना दिवसको अवसर पारेर नगरपालिकाका उत्कृष्ट कर्मचारीहरुलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानित हुने कर्मचारीहरुमा इञ्जिनियर सुनिल श्रेष्ठ, नायव सुव्वा जयराम सिलवाल, सहायक कम्प्युटर अपरेटर कमला थापा, सामाजिक परिचालक इन्द्र तामाङ तथा कार्यालय सहयोगी उतम थापा रहेको थियो । सम्मानित प्रत्येक व्यक्तिले नगद रु. पाँच हजार र प्रमाणपत्र प्राप्त गरेका थिए । यसै गरी कक्षा १२ को नतिजा अनुसार राष्ट्रिय स्तरमा तृतीय स्थान हासिल गर्न सफल बज्रवाराही माध्यमिक विद्यालयलाई रु. एक लाख सहित नगरपालिकाले सम्मान गरेको छ ।
नगर गीतको रचनाकार बशिष्ठ अधिकारी तथा सो गीतमा संगित दिने आलोक श्रीलाई कदर–पत्रले सम्मान गरिएको थियो । यसै गरी नगर गीतमा स्वर दिने कलाकार प्रताप दास, धर्मेन्द्र सेवाङ तथा निशा देशारलाई समेत कदर–पत्रवाट सम्मान गरिएको थियो । महिला, बालवालिका तथा शैक्षिक क्षेत्रमा दख्खल राख्ने सञ्चारकर्मी दिपक अर्याललाई नगरपालिकाले सम्मान गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल, राजकाजी महर्जनलगायतको उपस्थिति रहेको थियो ।