बुटवल, फागुन २८ । कांग्रेस नेता रामचन्द्र पौडेलले सीके राउतसँगको सम्झौताले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको औंल्याएका छन् । सम्झौतामाथि अनेक प्रश्न उठिरहेका बेला नेता पौडेलले सरकारको नियतमाथि नै प्रश्न उठाएका छन् । ‘सरकारले सिके राउतसँग गरेको ११ बुँदे समझदारी अपरिपक्व भएको पौडेलले प्रष्ट पारेका छन् ।
प्रेस युनियन, रुपन्देहीले बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सिकेसँग गलत सम्झौता गरेर सरकार आफैंले देशको अखण्डतामाथि प्रहार गरेको आरोप लगाएका छन् । पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि नेता पौडेलले आलोचना गरेका छन् ।
प्रधानमन्त्रीले पृथकतावादी आन्दोलन सकियो भन्नु दुश्प्रचार भएको नेता पौडेलको भनाई छ । साथै वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्दाेष रहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति पनि नेता पौडेलले आपत्ति जनाएका छन् । उनले कुनै पनि व्यक्तिको निधन पश्चात त्यो मानिसको कुनै संलग्नता छैन भनेर प्रधानमन्त्रीले प्रष्टिकरण दिनु नै आश्चर्यको कुरा भएको बताएका छन् ।
अख्तियारलाई समेत चुनौती दिने गरी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ती ढाक छोप गर्ने प्रपञ्च रचेको नेता पौडेलले बताएका छन् । उनले सरकारले आधिकारिक रुपमा छानविन गर्नुको साटो पानी माथिको उभानो बन्न खोज्नु गलत भएको प्रष्ट पारेका छन् । पौडेलले छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउने कुरामा पनि शंकास्प भएको बताएका छन् । ‘छानविन आयोगभन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै भएको प्रष्ट्याउँदै पौडेलले भने, छानबिनका लागि बनाएको समितिले निश्पक्ष रुपमा छानविन गरोस् ।
देशको ढुकुटीमा रित्याउने जो कोहि भए पनि छुट पाउन नहुने उनको धारणा छ । पौडेलले सुनकाण्डदेखि चिनी काण्डसम्मका उदाहरण प्रस्तुत गर्दै यसलाई भ्रष्टाचार मौलाएको प्रमाणका रुपमा प्रस्तुत गरेका छन् । विप्लव नेकपालाई बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको बताउँदै उनले अबिलम्ब वार्तामा बोलाउन माग गरेका छन् । सर्पको खुट्टा सर्पले देख्छ, अबिलम्ब विप्लवजीसँग वार्ता गर उनले भनेका छन् । कांग्रेसमा विद्यमान गुटगत राजनीतिप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसबाट माथि उठ्न सबैलाई आग्रह गरेका छन् ।