ललितपुरमा शुक्रबारबाट रोवर्ट प्रविधिमार्फत शिक्षण

ललितपुर, चैत ३ । ललितपुरमा रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिको प्रारम्भ भएको छ । प्रयागपोखरीस्थित यशोधारा बौद्ध माध्यामिक विद्यालयमा शुक्रबारबाट रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिको सुरुवात भएको हो ।

रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई पद्धतिले विद्यार्थीहरुमा भएका विविध समस्या समाधान लगायतका सीप र क्षमता विकासमा टेवा पुग्ने ललितपुर महानगरपालिकाका ‘आइसीटी फोकल पर्सन’ सत्यनारायण महर्जनले बताएका छन् । रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाइको सुरुवातका लागि फागुन २७ गतेबाट चैत १ गतेसम्म शिक्षकहरुलाई तालिम दिइएको थियो ।

ललितपुर महानगरपालिकाको आयोजनामा ५ दिनसम्म चलेका उक्त तालिममा प्रयागपोखरीस्थित यशोधारा बौद्ध माध्यामिक विद्यालय, बालकुमारीस्थित हिन्दुविद्यापीठ र धापाखेलस्थित जलपा माध्यामिक विद्यालयका दुई÷दुई जना शिक्षकहरु सहभागीता जनाएका थिए । तालिमका लागि जापानको मियागो विश्वविद्यालय, केडीडीआई फाउण्डेशन, सिटिनेट योकोहामाले सहयोग गरेका थिए ।

तालिम समापनसँगै शिक्षकहरुले हासिल गरेको सीप, क्षमता र दक्षतका आधारमा यशोधारा बौद्ध माध्यामिक विद्यालयमा पहिलो पटक रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाई प्रदर्शन गरिएको थियो । शुक्रबार यशोधारा बौद्ध माध्यामिक विद्यालयका कक्षा सातका विद्यार्थीहरुले करिव २ घण्टा सो प्रविधिको अभ्यास गरेका थिए । सिटीनेटका कार्यक्रम निर्देशक केन्द्र हिराताले यो पद्धतिबाट शिक्षण सिकाइले विद्यार्थीमा सृजनशीलताको विकास गर्ने जानकारी गराएका छन् । मियागी विश्वविद्यालयका प्रोफेसर मिजुटानी योशिनारीले विद्यार्थीहरुले रोवर्टलाई एसेम्बर गरेर विद्यार्थीहरुले नयाँनयाँ खोज गर्न सक्ने प्रष्ट पारेका थिए ।

नेपालमै पहिलो पटक रोवर्ट प्रविधिमार्फत शिक्षण सिकाईको यो प्रथम पटक भएको ललितपुर महानगरपालिकाका ‘आइसीटी फोकल पर्सन’ सत्यनारायण महर्जनले जानकारी गराएका छन् । ‘आइसीटी फोकल पर्सन’ महर्जनले यो पद्धतिमार्फत शिक्षण गर्दा विद्यार्थीहरुमा सृजनशीलता बढ्ने विश्वास व्यक्त गरेका छन् । विद्यार्थीहरुलाई उत्साही बनाउँ र नयाँ नयाँ कुराहरुको खोजी गर्ने बानीको विकास गर्न यो प्रविधिले निकै सहयोग गर्ने उनको धारणा छ । ओएलइ नेपालका कार्यकारी निर्देशक रवि कर्माचार्यले यो पद्दतिबाट शिक्षण गर्दा विद्यार्थीहरुमा प्रयोगात्मक विधिद्धारा सिक्ने बानीको विकास हुने वताएका छन् ।