राजनैतिक असहमतिको समाधान संवाद मात्र हो : कांग्रेस

काठमाडौँ, चैत ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै खालका असहमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै केहि समययता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको कदमबारे पार्टीको धारणा स्पष्ट पार्दै आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेका छन् ।

दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यसको मूल नेतृत्व कांग्रेसले गरेको स्मरण गराउँदै शर्माले आजको मितिमा हिंसात्मक विद्रोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधान भित्रैबाट विश्वासमा लिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्वलाई पहल गर्न अपिल गरेका छन् । हत्या, हिंसाको बाटो रोज्दा कसैलाई पनि फाइदा नपुग्ने कांग्रेसले बताएको छ ।

हरेक नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व भएकाले संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न नसकिने कांग्रेसले जनाएको छ । वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसकेको बताउँदै प्रवक्ता शर्माले भनेका छन्, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विद्रोहीलाई विश्वासमा लिन सत्तारूढ दल नेकपा नेतृत्वलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रवक्ता शर्माले कांग्रेसको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रस्ट्याउँदै लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको श्वास फेरिरहेको मुलुकमा फेरि नागरिक जीवनमाथि खेलवाड नगर्न सचेत गराएका छन् । सरकारले होसियारी पूर्वक हरेक कदम चाल्नु पर्ने र जनतालाई त्रास फैल्याउने काम गर्नु नहुने कांग्रेसको धारणा छ । सरकारले विभिन्न वाहानामा जनता माथि खेलवाड गरे कसैलाई सह्य नहुने कांग्रेसले बताएको छ ।