आदरणीय शेरवहादुर देउवा ज्यु
नमस्कार
इतिहासको यो स्वर्णिम एवम चुनौतिपुर्ण घडीमा नेपालको सत्ता राजनीति र राज्यले सधैं आँखा छोपेर हेर्ने गरेको सुन्दर जाजरकोटको वस्तीमा म आरामै छु । गणतन्त्र नेपाल निर्माणका लागि वलिदान गर्ने सहिद र सधै निरंकुसताका विरुद्ध गोलवन्द हुने नेपालीको सपना पुरा गर्न राज्यको वागडोर चौथो पटक समाल्न पुग्नु भएका तपाइ पनि व्यक्तिगत र राजनैतिक हिसावले आरामै हुनु हुन्छ होला भन्ने आसा गरेको छु ।
म तपाइको शुभचिन्तक भएर मात्र होइन एउटा अव्यवस्थित राज्य व्यवस्थाले चेपिएका हजारौं नागरिकहरुको आवाज वोलिदिने साथी भएको नाताले तपाइलाइ यो पत्र लेख्दै छु । तपाइलाइ यो देशको प्रधानमन्त्री र नेपाली काँग्रेसको सभापति भएको नाताले मात्र यो पत्र लेख्न लागेको भने होइन । विकट पहाडी जिल्ला डडेलधुरामा जन्मिएको सामान्य परिवारको युवा भएर पनि कुनै वेला जननेता विपी कोइरालाले आफनो रोजाइमा पारेको एक क्रान्तिकारी नेता सम्झेको छु तपाइलाइ मैले । देशलाइ सन्चो छ कि विसन्चो छ त्यो सवै तपाइले प्रत्येक दिन पढ्ने अखवारका अक्षरहरु, रेडियोका तरंगहरु र टेलिभिजनका दृस्यहरुमा छर्लङग छ । तपाइ सुरक्षा स्कर्टिङ सहित साइरन वजाएर हिड्ने सडकमा वनेका खाल्डाखुल्डी जस्तै छ यो देशको खवर ।
सरकारी कार्यालयमा अपमानित भएर सेवा लिन वाध्य एउटा सामान्य सार्वभौम नागरिकको दैनिकी जस्तै छ यो देशको हालत । आफना आफन्तहरु हत्या, वलत्कार र अपहरणमा परेर पनि न्याय नपाउने असहाय नागरिकको अविरल वग्ने आँसुहरुले भिजेको परेला जस्तै छ यो देशको अवस्था । यो देशमा सवै कुरा सम्भव भयो तर जनताले चाहेको, सहिद र पुर्खाहरुले सोचेको कुरा सफल हुन सम्भव भएन । राजतन्त्र ढल्न सम्भव भयो, काँग्रेसकै कार्यकर्ता काट्दै मार्दै युद्ध चलाएका माओवादीसंग काँग्रसको घाटी जोडिन सम्भव भयो । तपाइले नै ४० सुत्रिय माग पुरा नगर्दा जंगल पसेका माओवादी जसलाइ तपाइकै नेतृत्वको सरकारले आतंककारी घोषणा गरेको थियो आज तिन कै भोटले तपाइ प्रधानमन्त्री हुन पनि सम्भव भयो तर जनता चुसेर मोटाउने भ्रष्टाचारीलाइ तह लगाउने कानुन कार्यान्वयन गर्न सम्भव भएन ।
एउटा निहत्थो नागरिक मारिदा अपराधीलाइ कारवाहि गर्न सम्भव भएन । प्रत्यक दिन रुदै रुदै विदेशी भुमिमा पसीना वेच्न जाने लाखौं युवाहरुलाइ देशमै व्यवस्थापनको योजना वनाउन सम्भव भएन । जिउदै जनता र राष्ट सेवक जलाउनेहरु कारवाहिमा पर्न सम्भव भएन । एउटा गतिलो सिस्टमवाट देश चलाउन मति वुद्धि देखाउन पनि सम्भव भएन । यो वेहाल अवस्थाका विचमा पनि तपाइका हरेक कदमहरु विपी कोइरालाका जस्तै हुन्छन् कि अनि तपाइको हरेक सोचाइमा विपीले कल्पना गरेको नेपालको चित्र देखिन्छ कि भनेर म मात्र होइन पौने तीन करोड वढी नेपालीको आसा छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर एवम नेपालको लोकतन्त्रका सुत्रधार जननेता विपी कोइरालाले निकै विस्वास गरेको तपाइ यो देशको प्रधानमन्त्री पदमा चौथो पटक पुग्नु भएको छ त्यसैले यो पत्र मार्फत तपाइ सम्म लोकतान्त्रिक व्यवस्था भित्रै हेपिएको, चेपिएको र निरास वनाइएको एउटा नागरिकको पिडा पुरयाउने जमर्काे गरेको छु ।
आज मैले तपाइसंग जनताले भोगेका समस्या र तपाइ अनि तपाइको सरकारको आलोचना गर्न यो चिठी लेखेको भने होइन । म तपाइसंग २०७२ साल वैशाख १२ र २९ गतेको भुकम्पवाट पिडित हजारौं जनताको दर्दनाक पिडा, जाजरकोटमा २०६६ सालको झाडापखालावाट मरेका ४ सय र २०७२ वैशाखमा स्वाइन फुलुवाट मरेका २७ जना जाजरकोटीको वेथा सुनाउन पनि पत्र लेख्न लागेको होइन । गत वर्षको चैत्र १५ गते विभत्स ढंगले जाजरकोटको थाप्लेचौरमा हत्या गरिएका तपाइकै पार्टीका नेता रविन्द्र शाहका वुवा आमाले छोराको हत्याराहरु खोज्न टोलाइरहेका आँखाहरुको निरासा जनक हेराइको विषय पनि म यहाँ उठाउदिन । प्रत्येक दिन रोजगारीका लागि आफनो जन्मभुमि छोड्ने २ हजार अव्वल युवाहरुको वाध्यता र दर्दको कुरा पनि उठाउदिन । सामान्य अस्थायी कर्मचारी भर्ना देखि टोलमा वाटो निर्माण गर्ने वेला समेत कर्मचारी र दलका नेता कार्यकर्ताले देखाउने ताण्डव नृत्य र त्यसलाइ टुलुटुलु हेरेर वस्ने जनताको निरीहताको कुरा पनि गर्दिन म तपाइसंग । दक्ष योग्य तर पहुच नभएको एउटा निरीह नेपाली युवा नागरिकको वाध्यताको कुरा पनि तपाइसंग उठाउदिन । दल र दलका नेताहरुले अपराधीलाइ संरक्षण गर्ने र निहत्था जनतालाइ सधै पिडा र अन्यायमा पार्ने गरेको विषय पनि उठाउन खोजेको छैन ।
तर, आज मलाइ एउटा प्रश्न सोध्न मन लागेको छ तपाइसंग । देउवा ज्यु विपीले देखेको र कल्पना गरेको नेपाल कस्तो थियो ? तपाइको ५० वर्षे राजनैतिक जीवनको यात्रामा विपीले कल्पना गरेको नेपाल देख्नु भयो कि भएन ? एउटा गरिवको चुलोको समस्या वोल्ने विपीको प्रजातान्त्रिक समाजवादको प्रयोग कस्तो होला ? तपाइ विपीको सच्चा अनुयायी मात्र नभएर विपीसंगै अप्ठेरो अवस्थामा निरंकुसता विरुद्ध लडेको नेता भएको हुनाले कसरी विपीले हरेक नेपालीको घरमा साँझ विहान सजिलै छाक टार्ने चुलोको कल्पना गरे ? कसरी गरिव जनताको घरमा एउटा दुहुनो गाइको कल्पना गरे ? अनि कसरी विपन्न नेपालीको छोराछोरीले पढ्ने स्कुलको कल्पना गरे ? यो सवै तपाइलाइ थाहा छ । नेपाल किन गरिव छ नेपालको विकासको सम्भावना के छ ? यो सवै कुरा तपाइले उति वेलै विपीको संगतवाट थाहा पाउनु भएको थियो । तर, तपाइ ४ पटक प्रधानमन्त्री वन्ने वेला सम्म विपीले सपना र योजनामा कोरेको नेपालको चित्र किन नेपाली जनतालाइ किन देखाउनु भएन ? सम्भव भएर हो या देखाउन नसकेर हो ? तपाइ र तपाइका समर्थकले भन्न सक्छन् नेपालमा गणतन्त्र आयो लोकतन्त्र आयो जनताको संविधान आयो अव सम्वृद्धिको यात्रा सुरु भइसक्यो भनेर । तपाइहरुले त्यो तर्क राख्दै गर्दा म पनि केहि अवस्था देखाउन चहान्छु ।
नेपाल कृषि प्रधान देश भएर चामल देखि लसुन अनि प्याज देखि गोलभेडा सम्म वाहिरवाटै आयात हुन्छ । देशको कुना कन्दरामा समेत आयतित खुर्सानी र गोलभेडा भेटिन्छ । खेतवारीमा आफैले मेहनत गरेर फलाएका काँक्रो भेटिदैन अनि घरमै पालेका कुखरा र खसीवोका भेटिदैनन् । जता गएपनि आयतित अन्न र व्रोइलरहरुको राज छ । के विपीले परिकल्पना गरेको नेपाल र नेपालीको हालत यस्तै हो ? खुलेआम अपराध गर्नेहरु कहिले पनि कानुनको फन्दामा पर्दैनन वरु उनीहरुले राजनीतीको आडमा आफनो अपराध वचाउने र वढाउने मौका पाइरहेका छन् । के विपीले परिकल्पना गरेको कानुनी राज्य अनि विधिको शासनको कल्पनाको आदर्श यहि हो ? विपीले कल्पना गरेको समाजवादमा प्रत्यक नेपालीको आय स्तर वृद्धिको कल्पना छ, समृद्ध नेपालको चित्र छ तर आज तपाइ उनकै विस्वासपात्र यो देशको प्रधानमन्त्री हुदा विपीले परिकल्पना गरेको नेपाल जनताले खोजे भने के देखाउनु हुन्छ ? एउटा सामान्य नागरिकले कहिले पुर्ण रुपमा सुरक्षित भएको अनुभुति गर्न पाउछ यो देशमा ? ७० वर्षको लडाइवाट पाएको गणतन्त्र खासमा कसको लागि हो ? आफनो जीवन सुरक्षा र सवै प्रकारको स्वायत्तताको लागि पार्टीको कार्यकर्ता वन्नै पर्ने वाध्यता जनतालाइ कहिले सम्म ? के यी विपीको प्रजातान्त्रिक समाजवाद भित्र राख्न सकिने विषयहरु हुन् ? सानो उपभोक्ता समिति गठन देखि सरकार निर्माण सम्म दलीय झगडा र भागवन्डाले देश वर्वादीको खाडलमा भासिदै गर्दा पनि सुधारको संकेत नदेखिनुको पछाडि के कारण छ ? कर्मचारी खटाएको ठाउँमा जान मान्दैन, शिक्षक इमान्दारीपुर्वक पढाउन स्कुल जादैन अनि यातायात व्यावसायीहरु देशको कानुनलाइ ठाडो चुनौति दिदै जनता लुट्छन् दलकै आडमा । २००७ साल देखि परिवर्तन र मुक्तिका लागि मर्दै आएका नेपालीको सपना अराजकता र दण्डहिनता नै थियो त ? सुवर्ण सम्सेर जस्ता विपीका विस्वास पात्र तपाइका किन हुदैनन् ।
आफनै दाइ मातृकाले साथ छोड्दा पनि राणाको छोराले विपी कोइराला र नेपाली काँग्रेस प्रति देखाएको इमान्दारीता र वफादारीताको पाठ काँग्रेसका नेता कार्यकर्तालाइ कहिले सिकाउनु हुन्छ ? जनताले चाहेको गणतन्त्र कहिले आउछ ? सत्र हजार नेपाली कसका लागि मरेका थिए ? देशका लागि या नेताका लागि ? तपाइको राजनीतिको प्राथमिक्ता अपराध गर्ने कार्यकर्ता जोगाएर चुनाव जित्नु हो या गल्ती गर्ने आफनैलाइ पनि कारवाहि गरेर चुनाव हार्न तयार हुनु हो । तपाइको चिन्ता आउने पुस्ताको सुन्दर भविस्यका लागि हो या आउने चुनावमा पार्टीको जितका लागि हो ? सधै अनिर्णयको वन्दी वनेको नेपालको वास्तविक दोषी को हो ? २००७ साल अघि राणा थिए देशमा अराजक्ता र निरंकुसताका कारक, २०४६ भन्दा अघि पन्चायत थियो लोकतन्त्र र विकासको वाधक २०५२ पछि माओवादी द्धन्द र राजाले डिस्टर्व गरे राजनैतिक स्थायित्व र विकासका लागि तर अहिले दिन दिनै वढ्दै गएको अराजकता दण्डहिनता र राजनैतिक वेइमानीको कारक के हो खोज्न मिल्दैन ? जनता हरेक दिन सवाल गर्छन् यो देशले पार्टी जन्मायो तर, नेता जन्माएन नेता पनि जन्मायो तर, राजनेता जन्माएन के जनता गलत सवाल गर्दैछन् ? यो सवालको सहि जवाफ दिने पालो र जिम्मेवारी कसको ?काठमाडौंले दिएको वजेट गाउँमा नआउदै विचैमा हराउछ ।
दलीय भागवन्डामा वन्ने उपभोक्ता समितिले वनाएको वाटो र धारो तीन महिना नपुग्दै भत्केर जान्छ । तपाइले लोकतन्त्रका लागि वेहोरेको जेल जीवन या निर्वासित जीवनको लक्ष पुरा गरे जस्तो लाग्छ कि लाग्दैन ? तपाइको जीवनको लक्ष प्रधानमन्त्री वन्नु हो या विपीको सपनाको नेपाल वनाउनु हो ? सवै नेताले देश विग्रनुमा अरुकै दोष देख्छन् तर, आफुले गरेको गलत हर्कतको सधैं वचाउ नै गर्छन् किन होला ? महात्मा गान्धी जवारलाल नेरु र राजेन्द्र प्रसादले देखेको सुन्दर भारत पछिका नेताले पुरा गर्दै गए तर, विपी, पुष्पलाल गणेशमान र कृष्णप्रसाद भटराइ र मदन भन्डारीले देखेको सुन्दर नेपाल वनाउने कसले ? गणतन्त्रमा जनताले परिवर्तनको अनुभुति गर्न नपाउनुको दोष कसको हो ? जनताले हालेको भोट सरकार वनाउन र नेता चुन्न मात्रै हो ? लोकतन्त्र अपहरणमा पर्दा होस या संकटमा परेको अवस्थामा होस जनताका छोराछोरीले गरेको वलिदानको मुल्य राज्यले कहिले तिर्छ ? जनताको वलिदानको मुल्य भावी पुस्ताका लागि सम्वृद्धि दिएर तिरिन्छ या सधै राजनैतिक अस्थिरताको भारी वोकाएर तिरिन्छ ? तपाइको सत्ताले उत्तर देओस मेरो आसा छ । अहिलेलाइ पत्रवाट विदा हुन्छु । धन्यवाद ।
उहि तपाइको शुभचिन्तक
जनक केसी
पत्रकार, जाजरकोट