कांग्रेस नेता चिनकाजीलाई पितृशोक : संसदीय दलद्वारा दुःख व्यक्त

काठमाडौँ, चैत ३ । नेपाली कांग्रेसका पूर्वप्रमुख सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता विसं २००७ देखि कांग्रेसमा सक्रिय राजनीति गर्दै आएका पुण्यप्रसाद श्रेष्ठको दुःखद निधन भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँस्थित ओम अस्पतालमा निधन भएको थियो ।

विसं २००७ देखि कांग्रेसमा आबद्ध भई सक्रिय राजनीतिमा रहेका स्व श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा देखाएको सक्रियता सबैका लागि अनुकरणीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्व श्रेष्ठको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले उनले आफ्ना सन्ततिलाई सदैव आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आएको र आफू पनि सामाजिक कार्यमा संलग्न रहेको बताएका छन् ।