काठमाडौँ, चैत ४ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान गर्न विभिन्न नागरिक संघसंस्थाले आग्रह गरेका छन् ।
गैरसरकारी संस्था महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाललगायतका संघसंस्थाले सोमबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको (नेकपा)को पछिल्लो पटकका गतिविधिले जनमानसतामा त्रास उत्पन्न गराएको भन्दै तत्काल वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन् ।
हालै सरकारले प्रतिबन्ध गर्ने र विद्रोह गर्ने समूहले प्रतिरोध गर्ने खालका निर्णय र घोषणाले नागरिकमा फेरि पनि मुलुक हिंसात्मक द्वन्द्वमा प्रवेश गर्ने हो कि भन्ने आशङ्का बढ्दै गएको बताउँदै विज्ञप्तिमा भनिएको छ यसले जनसमुदायमा त्रासको वातावरण सिर्जना गरेको । यस्ता प्रकारका त्रासको मनोविज्ञानले दिगो शान्ति कायम रहन सक्दैन र नागरिकको मानवअधिकारको संरक्षण तथा प्रवद्र्धन पनि हुन सक्दैन ।