काठमाण्डौ, चैत्र ५ गते । चलचित्र ‘६ एकान ६’ हुँदै ‘छक्का पञ्जा’ को तीनवटै सिरिज सुपरहिट भएपछि अहिले प्रायः फिल्म इन्डस्ट्रीमा फिल्ममेकरले कमेडीको तड्का लगाएर भटाभट फिल्म बनाउने गरेका छन् । ‘छक्का पञ्जा’ सिरिज हिट भएपछि जबरजस्ती रुपमै कमेडी घुसाएर फिल्म बन्ने क्रम पनि चलचित्र जगतमा बढ्दो छ ।
हास्यकलाकारहरु केही वर्ष अगाडिसम्म ‘जोकर’ भनेर हेपिने गरेका समेत थिए । तर आज उनीहरुकै फिल्मले ठूला स्टारका फिल्मभन्दा पनि ठूलो व्यापार गर्न थालेपछि केही समययता एकपछि अर्को गर्दै हास्यकलाकारहरु फिल्म निर्माणमा एकाएक देखा पर्न थालेका मात्र छैनन् उनीहरुको डिमान्ड बढ्दो क्रममा छ ।
चर्चित हास्यटेलिसियल ’भद्रगोल’ को टिम पनि कमेडी फिल्म बनाउँदैछ । यसबीच, दीपकराज गिरी(दीपाश्री निरौला र महजोडीले निर्माण गरेका हरेक फिल्ममा सहकार्य गर्दै आएका चर्चित हास्यकलाकार शिवहरी पौडेल पनि अब फिल्म निर्माणमा औपचारिक लागि पर्ने भएका छन् । निर्माण मात्र नभएर उनले फिल्म निर्देशनको चुनौतीपूर्ण जिम्मेवारी पनि उठाउने जमर्को समेत गर्ने भएका छन् ।
उनले लामो समय हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ मा निर्देशन र अभिनय गरेका थिए । अब हास्यकलाकार किरण केसी र अभिनेता दीलिप रायमाझीसँग मिलेर फिल्म बनाउन लागेका हुन् । आउँदो दशैं वा तिहारमा प्रदर्शनमा ल्याउने गरि चाँडै फिल्मको छायांकन सुरु गर्ने हालै एक अन्तर्वार्तामा खुलासा गरेका हुन् ।
हाल फिल्मको स्क्रिप्टमाथि काम भइरहेको उनले जिकिर गरे । उनी भन्छन्,– अहिले नेपाली फिल्मको डरलाग्दो माहोल भएका कारण तत्काल फ्लोरमा जाने आँट जुटाउन सकेको छैन ’लगातार फिल्महरु असफल भइरहेका छन् । प्रायः फिल्मले दर्शक नै हलसम्म तान्न सकेका छैनन् । त्यही माहोलमा हामी पनि पर्ने त होइन भनेर अलिकति पछाडि हटेका छौं । आउँदो दशैं वा तिहारभित्र फिल्म ल्याउने सोचमा छौं ।’
फिल्ममा अनुभवी र नयाँ कलाकारहरुको अभिनय रहने उनले भने । फिल्मका लागि प्रमुख कलाकारहरु फाइनल नभएको र फिल्म पूर्णतया कमेडी कथामा नबन्ने र भरसक रियालिटी बेसमा फिल्म बनाउने समेत बताए । फिल्ममा कमेडी हुन्छ तर कथाको मागअनुसार मात्र राखिनेछ । उनले आफ्नो फिल्मको ’कन्टेन्ट’ भने बलियो हुने स्पष्ट पारे । फिल्मको नाम भने जुराइएको छैन । ’झण्डै डेढ सयभन्दा बढी नाम ठिक पारेर राखेका छौं । छान्न बाँकी छ । उनले डेब्यू निर्दे्शित फिल्म सफल भए यसलाई निरन्तरता दिने पनि जानकारी गराए ।