तीन फिट गहिराइमा चाँदीका सिक्का फेला

धम्बोझी, चैत ८ गते । चाँदी र तामाका सिक्का बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा फेला परेको छ । माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का प्रहरी नायब उपरीक्षक मदनजित महराले फेला पारेको बताएका छन् ।

सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जानकारी गराएको छ । प्रहरीले ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने बताएका छन् ।

चोरी डकैतीका त्रासले ‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जानकारी गराएको छ । प्रहरीले तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको बताइएको छ ।