काठमाडौं, चैत्र ८ । नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
ओलीले उक्त समूहलाई आपराधिक गतिविधि नगर्न अनुरोध गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताएका छन् । उनले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी गराएका छन् ।
लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने स्पष्ट पार्दै उनले भनेका छन्, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ ।
ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने स्पष्ट पारेका छन् ।