साफ महिला फुटबल खेलमा भारतसँग नेपाल पराजीत

काठमाडौं चैत ८ । घरेलु मैदानमा भएको साफ महिला खेलकुदको शुक्रबारको खेलमा नेपाल भारतसँग ३ १ गोल अन्तरले पराजीत भएको छ । सो खेलमा नेपालका लागि सावित्रा भण्डारीले १ गोल गर्नु बाहेक अरु कसैले पनि गोल गर्न सकेनन् ।

भारतका ३ जनाले ३ गोल हानी भारतलाई विजयको शिखरमा पुर्याउन सफल भएका छन् । खेलको २६ औं मिनेटमा भारतकालागि शालिमा शिल्परले पहिलो गोल गर्न सफल भएकी थिइन् । त्यसको ५ औं मिनेटमा नै नेपालकी सावित्राले जवाफी गोल फर्काउन सफल भए पनि अरुले गोल गर्न नसक्दा हार वेहोर्नु परेको थियो ।

खेलको ६२ औं मिनेटमा भारतकी ग्रेस दाम्नेले भारतीय टीमको लागि दोस्रो गोल गर्न सफल भएकी थिइन् । फाइनल खेलको ७६ औं मिनेटमा भारतले नेपालसामु आफ्नो तेस्रो गोल हानेको थियो जसमा भारतीय टीमको लागि अञ्जु तामाङले गोल गर्न सफल भइन् ।

सो साफ खेलमा नेपाल र भारतबीचको चौथो खेल भएको हो भने नेपालले चारै पटक भारतसँग हार बेहोर्न वाध्य भएको हो । शुक्रबारको फाईनल खेलमा पहिलो हाफमा एक एक गोलको बराबरीमा रोकिए पनि दोस्रो हाफमा भने भारतले नेपालमाथि दबाब सिर्जना गर्दै थप २ गोल हान्दै जीत हात पार्न सफल भएको हो ।