सोल, चैत ८ । दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी गराएका छन् ।
केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ ।
गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा कोरियाली प्रायःद्वीप मेलमिलाप र सम्पर्कका लागि सो कार्यालय खोलिएको थियो । तर प्योङयाङले सो कार्यालयबाट आफ्ना कुटनीतिज्ञलाई फिर्ता लगेको दक्षिण कोरियाका उप–एकीकरण मन्त्री चुन हाए सुङ्ले जानकारी गराएका छन् ।
माथिल्लो तहबाट नै यस्तो आदेश आएको आफ्ना कर्मचारीको भनाइ उद्धृत गर्दै मन्त्री चुनले भने, “उत्तर कोरियाका कर्मचारीहरु तपाइँहरु जेसुके गर्नुस् भन्दै एकाएक बाहिरिए ।
अमेरिकाले प्रतिबन्ध लगाउने अडान लिइरहेको खण्डमा देशको सार्वभौमिकता र सर्वोच्च हित प्रतिरक्षा गर्नका लागि नयाँ बाटो अपानाइने उत्तरी कोरियाली नेता किमले नयाँ वर्षको उपलक्ष्यमा दिएको सम्बोधनमा बताएका थिए ।
मन्त्री चुनले उत्तर कोरियाले सम्पर्क कार्यालयबाट आफ्ना कर्मचारी हटाउने निर्णय निकै दुःखद रहेको पनि स्पष्ट पारेका छन् । तैपनि हामी सम्पर्क कार्यालयका कर्मचारीलाई तत्कालै फिर्ता बोलाउने छैनौं, उनले भनेका छन् ।