चितवन, चैत ११ । राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने जानकारी गराएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन समेत बताए । डा सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उनले जनाएका छन् ।
सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उनले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिए । उनले थपे, असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ । नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्र्नुपर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्नेेमा स्पष्ट पारे ।
पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको जानकारी गराए । उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिएका छन् ।
पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए । उनले पार्टी स्थापना भएको दिन अप्रिल २२(आगामी वैशाख) सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।