पूर्णचण्डी पोखरीले मुहार फेरिदै : ललितपुर महानगरपालिकाले पुनर्निर्माण गर्ने

ललितपुर, चैत १२ । ललितपुर महानगरपालिका गाबहालस्थित सुख्खा मैदानमा परिणत भएको पूर्णचण्डी पोखरीको पुनर्निर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले सो पोखरीको पुनर्निर्माण गर्न लागेको हो ।

पुनर्निर्माणका लागि ९९ लाख लागत अनुमान गरिएको उक्त पोखरीको सोमबार महानगरका मेयर चिरीबाबु महर्जनले शिलान्यास गरेका छन् । वडा नं २०मा अवस्थित पूर्णचण्डी पोखरी निर्माणका लागि ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । केही वर्ष अघिसम्म गाबहालबासीको पानीको स्रोत रहेको पोखरीमा अहिले पानी छैन ।

ललितपुर महानगरपालिकाका मेयर महर्जनले पोखरी संरक्षण सम्पदा संरक्षणको महत्वपूर्ण पक्ष भएको बताए । बढ्दै गएको सहरीकरणका कारण सहरको सुन्दरमा बिग्रदै गएकोमा चिन्ता प्रकट गरेका छन् । महानगरले सहरलाई सुन्दर बनाउने, वातावरण संरक्षण गर्ने पोखरी संरक्षणलाई प्राथमिकतामा राखेको जानकारी गराएका छन् ।

उनले भने, ‘२०२१ सालको नापी नक्सा अनुसारमा नै पोखरीको क्षेत्रफल हुनुपर्छ, पोखरीको क्षेत्रफललाई खुम्चाउन पाइदैन । ’उपभोक्ता समितिका अध्यक्ष किरण महर्जनले पोखरी महत्वपूर्ण सम्पदा भएको बताउँदै यसको संरक्षणले पर्यावरण संरक्षणमा सहयोग पुग्ने प्रस्ट्याएका छन् । उनका अनुसारमा पोखरीमा थुप्रिएको दुई फिट कालो माटो झिक्नुपर्नेछ ।

माटो झिकेपछि आवश्यक प्रक्रिया पुरा गरेर पोखरीमा पानी भरण गर्ने अध्यक्ष महर्जनले बताएका छन् । पोखरीमा पानी भरण आकाशेपानीबाट गरिनेछ । उनले भने, ‘ आकाशेपानीलाई ड्रेन मार्फत पोखरीसम्म आइपुग्ने व्यवस्था मिलाइएको छ । ’ पानी पर्याप्त नभए विकल्पका बारेमा समेत छलफल गरिने बताएका छन् ।

पोखरीको पुनर्निर्माणले यस क्षेत्रमा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने स्पष्ट पारेका थिए । परापूर्व कालमा पूर्णचण्डी पोखरी नख्खु खोला र बाग्मतीको दोभान भएको जानकारहरु बताउँछन् । पोखरीको पुनर्निर्माण समयमै सक्ने प्रतिबद्धता किरण महर्जनले गरेका छन् । उनका अनुसार दुई महिनाभित्र पुनर्निमार्णको काम सम्पन्न गर्नुपर्नेछ ।