काठमाडौँ, साउन २० । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अर्थ र व्यापार साप्ताहिकको छैटौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री बस्नेतले सञ्चारको विकास भएमा मात्र मुलुकको विकास हुन सक्ने हुँदा यसको विकास आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए । उनले सञ्चार क्षेत्रमा लागेका मानिसहरुको भविष्य अन्योलमा रहेको र यस क्षेत्रलाई आफुले नजिकैबाट बुझेको बताएका छन् ।
सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आफूलाई मौखिक र लिखित सुझाव दिन सञ्चारकर्मीसँग आग्रह गर्दै उनले स्थानीय तहको निर्वाचनसँगै मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको विचार व्यक्त गरे । तीनवटै तहको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा लैजाने सरकारको प्रमुख लक्ष्य रहेको समेत मन्त्री बस्नेतले जनाए । ट्रेकिङ एजेन्स् एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष ज्योति अधिकारीले पूर्वाधार निर्माणका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।
पर्यटन व्यवसायी रामप्रसाद थपलियाले संघीयताको विकाससँगै पर्यटनको विकास गर्न सके देश विकासको बाटोमा अगाडि बढ्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष प्रदीप न्यौपानेले पत्रकारिताको माध्यमबाट अर्थ र व्यापार पत्रिकाले पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्नुपर्ने बताए । पाँच वर्ष अगाडि स्थापना भएको अर्थ र व्यापार मासिक पत्रिकाले अर्थ र व्यापारले प्रविधिमा परिवर्तन आएसँगै अर्थ र व्यापार डटकम अनलाइन समेत सञ्चालन गरेको संस्थाका प्रबन्ध निर्देशक नवीन काफ्लेले जानकारी दिएका छन् ।
कार्यक्रममा यो वर्षको अर्थ र व्यापार अवार्ड व्यवसायी ओमप्रसाद उप्रेती र पत्रकार शरदराज सुवेदीलाई प्रदान गरिएको थियो । दुबईमा बसेर व्यवसाय गर्दै आएका युवा व्यवसायी उप्रेतीलाई सम्मानपत्र र दुई दशकदेखि गोरखापत्र संस्थानमा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सुवेदीलाई रु १५ हजार नगद सहित सम्मान गरिएको थियो ।