काठमाडौँ, चैत १५ । चैत्र १० गतेबाट शुरु भएको एसईई परीक्षा संचालनका क्रममा चरम लापरवाही र मनलाग्दि गरेको पाइएको छ । हिजो विज्ञान विषयको परिक्षा भइ रहेका बेलामा विभिन्न अनैतिक क्रियाकलाप भएका कारण प्रदेश २ को परीक्षा स्थगन गरियो ।
फेरी आज पनि विभिन्न लापरवाही भएकै कारण प्रश्नपत्र पहिला नै सार्वजनिक भएको प्रदेश २ मा आज हुन लागेको सामाजिक विषयको परीक्षा पनि स्थगित भएको छ । प्रश्नपत्र पहिले नै सार्वजनिक गर्नुमा ‘ठूलै गिरोह’ भएको हुन सक्ने आशंका गरिएको छ । त्यसैले काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली जनकपुर जाने भएको छ ।
प्रदेश २ का डीआईजी हरि पालले प्रश्नपत्र बाहिरिएको विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । प्रहरीसँग भएका सबै प्रश्नपत्र सुरक्षित भएको भए पनि कहाँबाट भयो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।
आज हुन लागेको परीक्षाको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल र पसलहरुमा छ्याप्छ्याप्ती पारिए पछि परीक्षा स्थगन गर्नुको विकल्प नभएको प्रहरीले जनाएको छ । आज स्थगित परीक्षा चैत २३ गते हुने जानकारी गराइएको छ । नियमित तर्फको परीक्षा स्थगित भएपनि एक्जाम्टेडतर्फको भने कायमै रहेको थियो ।