शरीर, मन र आत्माको अन्तरसम्बन्धलाई सन्तुलनमा राख्न आयुर्वेदले तीन स्तम्भको व्याख्या गरेको छ । आहार, निद्रा र मैथुन । मान्छे उचित समयमा पर्याप्त निदाउँदा शरीरमा चमक बढ्छ, बल र उत्साह वृद्धि हुन्छ । किन निदाउने भन्ने प्रश्नको जवाफ दिँदै डा. राजु अधिकारी :
निदाउँदा शरीरमा पर्याप्त मात्रामा प्रोटिन निर्माण हुन्छ । नयाँ कोषिका बन्ने र विकसित हुने प्रक्रियामा प्रोटिनको अहं भूमिका रहन्छ । अझ बाल्य तथा किशोरावस्थामा शरीरको विकास एवं सुगठनका लागि अत्यावश्यक हर्मोन तथा सूक्ष्म रसायनहरू गहिरो निद्राको वेला नै उत्पन्न हुन्छन् ।
स्नायुु प्रणाली एवं नाडी मण्डलको सञ्चालन तथा स्वतस्फूर्त क्रियाशीलताका लागि निद्रा अत्यावश्यक हुन्छ । चेतना संवहन, स्नायु आवागमन, संवेदना परिभ्रमण र अन्तरप्रणाली सम्बन्ध सबैका लागि स्वस्थ र गहन निद्राको केन्द्रीय भूमिका हुन्छ ।
तनाव, अल्ट्राभाइलेट विकिरण, अत्यधिक थकानजस्ता कारणले शरीर एवं मानव स्वास्थ्यमाथि आघात पुग्न जान्छ । साथै, कोषिकाहरूलाई नोक्सान हुन्छ । गहिरो र स्वस्थ निद्रा त्यसको परिपूर्ति गर्ने सर्वोत्तम माध्यम हो ।
मानिसको दिमागमा अवस्थित संवेदनाको केन्द्र, सामाजिक मेलमिलाप एवं निर्णयशैलीलाई नियन्त्रित गर्ने केन्द्र गहिरो निद्राद्वारा नै सबल र सशक्त हुन्छन् । गहिरो निद्राले नै ती प्रणालीलाई प्रतिरोधात्मक क्षमता प्रदान गर्छ ।
गहिरो निद्रा लिई निदाउन जान्ने व्यक्ति आवश्यक समयमा सही निर्णय दिन सिपालु हुन्छन् । अल्प र अपूर्ण निद्राले एकाग्रता, स्मरणशक्ति, निर्णयशीलता, सृजनात्मकता तथा गणित समाधान शक्तिमा ह्रास ल्याउँछ । साथै समग्र जीवनशक्ति र शरीरको ऊर्जामा समेत कमी आउँछ ।
मानिस सुतेको समयमा शरीरको तापमान र पाचन स्तर कम हुन्छ । चौबीसै घन्टा चल्नुपर्ने आन्तरिक अंगहरूको कार्यभार सुतेको समयमा घट्छ । साथै, मस्तिष्कीय न्युरोहरूले सुसंगठित हुने अवसर प्राप्त गर्छन् ।
गहिरो र प्राकृतिक निद्रा लिन जान्ने व्यक्तिको आयु लामो हुने वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् । यसले शरीर चम्किलो बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।