नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको छ : प्रम

काठमाडौँ, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको जानकारी गराएका छन् । रिपोर्टर्स क्लब नेपालको २१  औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो । लगानी सम्मेलन उत्साहजनक ढगले सम्पन्न गरेको स्पष्ट पार्दै उनले भने, सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश दिएका छाँैं । समृद्ध नेपाल आफैंँ बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरिएको प्रधानमन्त्रीले जानकारी गराएका छन् ।

कर्मचारी समायोजन सहज नभए पनि त्यससम्बन्धी काम सकिएको तथा कानून बनाइएको बताउँदै ओलीले संविधान कार्यान्वयन गर्ने कानून र संरचना निर्माणमा सफलता प्राप्त भएको प्रस्ट्याएका छन् । प्रधानमन्त्री ओलीले आगामी दिनमा संविधानले संघ, प्रदेश र स्थानीय तहलाई तोकेका क्षेत्र र अधिकारका बाँडफाट समन्वयात्मक रुपमा मिलेर अगाडि बढ्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको बताएका छन् । उनले नेपालमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने र अनेक नाममा लडाउन खोज्ने पृथकताका सोचहरुको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र जसरी पनि समर्थन गर्नुपर्ने अवस्थामा नरहेको प्रष्ट पार्दै सबैलाई सकारात्मक सोच राख्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले विकसित दुनियाँका सन्तानभन्दा पनि सभ्य र सुसंस्कृत समाजका हाँैं भन्ने भुल्नु नहुने जानकारी गराएका छन् । उनले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु नहुने जिकीर गरेका छन् । सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि र विकासका लागि आगामी दिनमा थप सहमति, सहकार्य र एकताको खाँचो भएको बताएका छन् ।

आफुमा कुनै व्यक्तिगत लाभ र मोह नभएको बताउँदै उनले भने, अब मेरो चाहना देशको आर्थिक समृद्धि र विकास हो । उनले राष्ट्रिय एकता, स्थायित्व र विकासलाई कमजोर पार्ने र बदनाम गर्नेलाई बालीमा गोडमेल गरेझैँ गोडमेल नगर्न सञ्चार जगतलाई आग्रह गरेका छन् ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र स्थापना गर्न सञ्चार जगतले अहम् भूमिका निर्वाह गरेको स्पष्ट पारेका छन् । सोहि कार्यक्रममा बोल्दै नेपाली कांंग्रेसका नेता डा रामशरण महतले आर्थिम समृद्धि भाषणले होइन, लगानीले आउने चर्चा गर्दै शनिवार लगानी सम्मेलनका समापनका अवसरमा हस्ताक्षर गरिएका योजना विगतमै आएको जिकिर गरेका छन् । उनले विगतका राजनीतिक अप्ठ्यारो परिस्थितिमा पनि पूर्वाधार विकासका क्षेत्रमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै पूर्वाधार विकासमा पक्ष विपक्षमा बाँडिनु नहुने जिकीर गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले लोकतान्त्रिक मूल्यमान्यतानुसार प्रेस क्षेत्रलाई निर्बाध चल्न दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली महासंघका पूर्वअध्यक्ष उपेन्द्र महतोले राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिएका छन् । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वतन्त्र प्रेसले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।