१४ वटा विधेयक पारित गर्दै बागमती गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न

ललितपुर, चैत्र १७ । चैत्र ११ गतेबाट सुरु भएको बागमती गाउँपालिकाको चौथो गाउँ सभा विभिन्न प्रस्ताव तथा ऐन, कार्यविधिहरु पारित गर्दै सम्पन्न भएको छ । सभाले ११ गते नै संशोधित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

सो सभाले चालु आर्थिक वर्ष २०७५ र ०७६ को योजना संशोधन तथा अनुमोदन सम्बन्धी विभिन्न विषयमा छलफल गरेको थियो । जसमा गाउँपालिकाको प्रमुख लक्ष्य पालिका भवन निर्माणका लागि जग्गा खरिद एवं भवन निर्माण, एम्बुलेन्स खरीद, पशु बीमा कार्यक्रम, महिला सशक्तिकरण, जनतासँग अध्यक्ष, कृषि र पशु कार्यक्रम जस्ता कार्यक्रमलाई जोड दिइएको थियो । त्यस्तै युवा, अपाङ्ग, जनजाति, दलित लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखिएको थियो ।

गाउँसभामा अध्यक्ष लोप्चनले विभिन्न विषयगत १४ वटा विधेयक, नियमावली सभासमक्ष पेश गरेका थिए । सहकारी विधेयक २०७५, कृषि व्यवसाय प्रर्वद्धन विधेयक २०७५, आर्थिक विधेयक २०७५, न्यायिक समिति सम्बन्धी विधेयक २०७५ लगायतका विधेयक अध्यक्षले गाउँसभामा दफाबार छलफलका लागि प्रस्तुत गरेका थिए । गाउँसभामा गाउँ कार्यपालिका कार्यसम्पादन नियमावली २०७५, कार्यविभाजन नियमावली २०७५, गाउँपालिका संचालन कार्यविधि लगायत विभिन्न विधेयक, कार्य्विधि, नियमावली छलफल गर्न ५ दिनको समयावधि तोकिएको थियो ।

गाउँसभा बाट पास भएको विधेयक,कार्यविधि र नियमावली आइतबारबाटै कार्यान्वयनमा लैजाने अध्यक्ष लोप्चनले बताएका छन् । नियमावली, कार्यविधि, विधेयक संशोधन सहित आइतबार बसेको गाउँसभाले सर्वसम्मत रुपमा पास गरेको प्रवक्ता विष्णु प्रसाद तिमिल्सिनाले जानकारी गराएका छन् ।