पौडेलद्वारा बिनाशकारी क्षतिप्रति दुःख व्यक्त : पीडितलाई उद्धार र राहत प्रदान गर्ने माग

काठमाडौँ, चैत १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बारा र पर्सा जिल्लामा भएको बिनाशकारी क्षतिप्रति नदुःख व्यक्त गर्दै राहत वितरणलाई तिव्रता दिनका लागि नेपाल सरकारसँग माग गरेका छन् । आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा ३१ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन् ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीले जनाएको छ । कांग्रेस नेता पौडेलले बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको जानकारी गराएका छन् । उनले यस प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको स्पष्ट पार्दै भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपील समेत गरेका छन् । यस विपतको घडीमा हामी सबै मिलेर उद्धार र राहत प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन् । अझै पनि बिरामीहरूको उपचारमा रगतको अभाव भएको भए अस्पतालमा पुगेर सबैले रक्तदान गर्न पनि उनले आग्रह गरेका छन् ।’

आइतबार राति आएको आधा घण्टाको हावाहुरीले हज्जारौँ सर्वसाधारणको घर, गोठ भत्काइदिनुका साथै धेरै बस्तुभाउको पनि र्मत्यु भएको बताइएको छ । भत्किएका घर र गोठ निर्माणका गर्नका लागि पनि राहत दिनुपर्ने कांग्रेस नेता पौडेलले सरकारसँग आग्रह गरेका छन् । वरिष्ठ नेता पौडेलले हावाहुरी पीडितहरूको उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यावाद समेत दिएका छन् ।