काठमाडौँ, चैत १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आगामी शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पछिल्लो समयमा सरकार प्रतिपक्षी दललाई पेलेर अगाडि बढेको निष्कर्षमा पुगेको कांग्रेसले यसै साता केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आगामी शनिवार दिउँसो १ वजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी गराएका छन् । बैठकमा केही दिनअघि प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा बसेको संवैधानिक परिषद्को बैठकको निर्णयका बारेमा छलफल गर्ने जानकारी गराइएको छ ।
बैठकले पार्टीका विभिन्न भ्रातृ संगठनहरुको विधान पारित गर्नुका साथै समसामयिक विषयमा छलफल गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका गराएका छन् । शनिवारको बैठकमा विभिन्न भ्रातृ संगठनहरुको विधान पारित गरिने एजेण्डा रहेको बताउँदै प्रवक्ता शर्माले भनेका छन्, अर्को समसामयिक सन्दर्भका बारेमा पनि छलफल हुन्छ । सभापति शेरबहादुर देउवाले शनिवारको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीको कार्यसम्पादन समिति पनि गठन गर्ने तयारी गरेको बताइएको छ ।
४३ वटा विभाग मध्ये कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय निर्वाचन समितिलाई अघिल्लो साता मात्रै पूर्णता दिएको थियो । अन्य समितिका विषयमा भने के गर्ने भन्ने टुङ्गो नलागेको जानकारी गराइएको छ ।